सप्ताहव्यापी कार्यक्रम गरेर सहिद दिवस मनाउँदै हेटौंडाको सहिद स्मारक
हेटौंडा । हेटौडा–११ स्थित सहिद स्मारक बिकास समितिले यो वर्षको सहिद दिवस सप्ताहव्यापी रूपमा विभिन्न कार्यक्रम गरेर मनाउने भएको छ ।
सहिद स्मारक बिकास समिति परिसरमा शनिबार पत्रकार सम्मेलनको आयोजना गरेर साताव्यापी रुपमा विभिन्न कार्यक्रम गरेर दिवस मनाउने जानकारी दिएको हो ।
पत्रकार सम्मेलनमा स्मारक विकास समितिका सचिव रघुनाथ खुलालले सहिद सप्ताह २०८२ को अवसरमा विभिन्न सरकारी निकायहरुसंगको सहकार्यमा माघ १० गते देखि १६ गतेसम्म विभिन्न कार्यक्रम गरिने जानकारी दिए। समितिले तय गरे अनुसार आज पत्रकार भेटघाट एवम् कार्यक्रम सार्वजनीक गरिएको उनले जानकारी दिए।
साताव्यापी कार्यक्रम अन्तरगत माघ ११ गते स्मारक परिसर सरसफाईको कार्यक्रम रहेको छ । भने, माघ १२ गते समितिको १६औं परिषद बैठक अर्थात वार्षिक साधारणसभा र हेटौंडा–४ नम्बर वडाको व्यवस्थापनमा सहिद स्मारक र विद्यार्थीहरुबीच अन्तरकृया कार्यक्रम तय गरिएको छ ।
त्यस्तै माघ १३ गते नेपाल रेडक्रस सोसाईटी हेटौंडा–११ को समन्वयमा स्मारक परिषरमै रक्तदान कार्यक्रम, माघ १४ गते हेटौंडा–१२ स्थित प्रथम सहिद लखन थापा बाटिकामा श्रद्धात्तजली कार्यक्रम, माघ १५ गते मदन भण्डारी फाउन्डेसन मकवानपुरको व्यवस्थापनमा सहिदको सपना र नवयुवाको कर्तव्य विषयक माध्यमिक तह स्तरीय वक्तृत्वकला प्रतियोगिता तथा अन्तिक दिन माघ १६ गते बागमती प्रदेश सरकारको समन्वयमा प्रभातफेरी, सहिद प्रति सलामी, माल्यार्पण, श्रद्धात्तजली सभा, श्रीचन्द्र शर्मा स्मृति सम्मान पुरस्कार वितरण र समापन कार्यक्रम हुने सचिव खुलालले जानकारी दिए ।







