बागमतीमा राष्ट्रिय सभा सदस्य निर्वाचनको तयारी पूरा, को -को छन् उम्मेदवार ?
हेटौंडा । बागमती प्रदेशको हेटौंडामा आइतबार हुने राष्ट्रिय सभा सदस्य निर्वाचनको तयारी पूरा भएको छ । बागमतीका लागि हेटौंडा उपमहानगरपालिका–४ भुटनदेवी माविमा मतदानस्थल तोकेको छ । उक्त मतदानस्थलमा २ वटा मतदान केन्द्र रहेका छन् । मतदानस्थलमा घेराबारा लगाउने र मतपेटिका राख्ने काम सकिएको निर्वाचन अधिकृत गीता श्रेष्ठले बताइन् ।
बागमती प्रदेशको राष्ट्रिय सभाको निर्वाचनमा ९ जना मतदाता संख्या घटेको छ । बागमती प्रदेश निर्वाचन कार्यालय हेटौंडाका अनुसार ६ जना प्रदेश सभा सदस्य, दुई जना महानगरपालिका मेयर र एक जना नगरपालिका मेयरले राजीनामा दिएका कारण नौ जना बागमती प्रदेशको राष्ट्रिय सभा सदस्यको मतदाता घटेको बागमती प्रदेश निर्वाचन कार्यालयका प्रमुख हरिप्रसाद ढकालले बताए । ुअन्तिम मतदाताको संख्या ३४७ जना रहेको थियो तर अहिले आ–आफ्नो पदबाट राजीनामा दिएर प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार भएका कारण ३ सय ३८ जनामात्र मतदाता रहने छन्,ु उनले भने । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि बागमती प्रदेशका ११० सदस्यीय प्रदेश सभा र ११९ स्थानीय तहका अध्यक्ष र उपाध्यक्ष तथा नगर प्रमुख र उपप्रमुख २३८ गरी ३४८ जना मतदाता हुनुपर्नेमा निर्वाचन अधिकृत कार्यालय हेटौंडाले सार्वजनिक गरेको मतदाताको सूचीमा नगरपालिकाका नगर प्रमुख र उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षको मतदाता सूचीमा २३७ जनाको मात्र नाम रहेको थियो ।
राष्ट्रिय सभा सदस्य पदका लागि ३४७ जनाको मताधिकार रहने उल्लेख गरेको थियो । तर प्रदेश सभा सदस्य ६ जना र पालिकाका प्रम्खु तीन जना गरी नौ जनाले राजीनामा दिएकाले अब मतदाता संख्या ३३८ मात्र रहने निर्वाचन अधिकृतको कार्यालय हेटौंडाले जनाएको छ ।
राजीनामा दिने बागमती प्रदेशका प्रदेश सभा सदस्यहरूमा कांग्रेसका १,राप्रपाका १, साबिकको माओवादी केन्द्रको १, साबिकको एकीकृत समाजवादीको १ र एमालेको २ जना प्रदेश सभा सदस्यले राजीनामा दिएका छन् । त्यसैगरी काठमाडौं महानगरपालिकाका मेयर बालेन साह, भरतपुर महानगरपालिकाका मेयर रेणु दाहाल र धुलिखेल नगरपालिकाका मेयरले राजीनामा दिएर प्रतिनिधिसभाको सदस्यमा उम्मेदवारी दिएका छन् ।
प्रदेश सभा सदस्य र पालिकाका मेयरहरूले राजीनामा दिएका कारण राष्ट्रिय सभा सदस्यको निर्वाचनमा सामान्य प्रभाव पर्ने अनुमान गरिएको छ । निर्वाचन अधिकृत कार्यालयले राष्ट्रिय सभा सदस्य निर्वाचन महिला समूह र अन्य समूहबाट निर्वाचित हुन सदस्य पदका तीन महिलासहित ६ जनाले उम्मेदवारी दिएका छन् ।
नेपाली कांग्रेसबाट महिला समूहको कोटामा उम्मेदवारी दिएकी गीता देवकोटालाई, नेपाली कम्युनिस्ट पार्टी ९नेकपा० की सरोजकुमारी झा, र नेपाल मजदुर किसान पार्टीबाट उम्मेदवार दिएकी कविता महर्जन उम्मेदवार रहेकी छन् । यसैगरी अन्य समूहबाट एमालेको तर्फबाट प्रेमप्रसाद दंगाल, नेकपाकोतर्फवाट प्रेमप्रसाद सापकोटा र नेमकिपाकोतर्फबाट विक्रम डुकुछुले उम्मेदवारी दिएका छन् ।
बागमती प्रदेशमा राष्ट्रिय सभा सदस्यका लागि एक महिलासहित दुई पदका निम्ति ३ महिलासहित ६ जनाले उम्मेदवारी दिएका छन् । कांग्रेस र एमालेले तालमेल गरेर उम्मेदवारी दिएका थिए । अब कांग्रेसको नेतृत्व फेरबदल भएका कारण अब के हुन्छ भन्न सकिएको छैन ।
बागमती प्रदेशमा राष्ट्रिय सभाको एक महिलासहित दुई सदस्य पदका लागि पुस २३ गते ६ जनाले उम्मेदवारी दर्ता गराएका थिए । निर्वाचन आयोगले राष्ट्रियसभामा रिक्त हुने १८ सदस्यका लागि माघ ११ गते अर्थात् आइतबार बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदानका कार्यक्रम रहेको छ । बागमती प्रदेशमा आगामी फागुनमा पदावधि सकिने राष्ट्रिय सभाका सदस्य दुवै जना नवगठित नेपाली कम्युनिस्ट पार्टीका हुन् । नेपालको संविधानको धारा ८६ को उपधारा ९३० बमोजिम रिक्त हुन आउने राष्ट्रिय सभाका १९ जना सदस्यको पदावधि आगामी फागुन २० गते सकिन लागेको छ । रिक्त हुने पदमध्ये एक जना नेपाल सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुने र १८ जना राष्ट्रिय सभा सदस्यका लागि निर्वाचन हुन लागेको हो ।
देशभर १८ पदका लागि राष्ट्रिय सभा सदस्य निर्वाचन हुनेमा बागमती प्रदेशबाट एक महिलासहित दुई सिटमा निर्वाचन हुँदै छ । महिला कोटातर्फ तत्कालीन माओवादी केन्द्रकी गंगाकुमारी बेलवासे र तत्कालीन एकीकृत समाजवादीका नेता वेदुराम भुसालको फागुन २० समयावधि सकिने भएकाले उक्त रिक्त पदमा निर्वाचन हुन लागेको बागमती प्रदेश निर्वाचन कार्यालयका प्रमुख ढकालले बताए ।
प्रदेश सभा सदस्यको एक जनाको मतभार ५३ रहने छन् भने स्थानीय तहका प्रमुख र उपप्रमुखको १९ मतभार रहने छ । बागमती प्रदेश सभामा कांग्रेसका ३६ सिट छन् भने स्थानीय तहमा प्रमुख तथा उपप्रमुख गरी १०७ सिट छन् । यस्तै, एमालेको प्रदेश सभामा २५ सिट र स्थानीय तहमा ५९ सिट, तत्कालीन माओवादी केन्द्रको प्रदेश सभामा २० र स्थानीय तहमा ५६ सिट, राप्रपाको प्रदेश सभामा १२ र स्थानीय तहमा १ सिट, नेकपा एकीकृत समाजवादीको प्रदेश सभामा ६ र स्थानीय तहमा ९ सिट, नेमकिपाको प्रदेश सभामा ३ र स्थानीय तहमा २ सिट तथा हाम्रो नेपाली पार्टीको प्रदेश सभामा २ सिट र स्थानीय तहमा १ सिट रहेका छन् ।
बागमती प्रदेशमा कुल मतभार ९९५८ रहेकोमा कांग्रेसको तीन हजार ९४१ मतभार रहेको छ भने नवगठित नेकपाको प्रदेश सभा सदस्य २६ र नगरपालिका प्रमुख र उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष गरी ६५ जनासहित ९१ जनाको कुल दुई हजार ६१३ मतभार छ । एमाले दुई हजार ४४६ मतभारसहित तेस्रो स्थानमा छ । राष्ट्रिय प्रजातन्त्र पार्टीको ६५५मतभार रहेको छ । नेपाल मजदुर किसान पार्टीको १९७ मतभार रहेको छ भने हाम्रो नेपाली पार्टीको १०६ मतभार रहेको छ । स्वतन्त्रको १९ मतभार रहेको थियो । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले राजीनामा दिएर प्रतिनिधिसभाको उम्मेदवार बनेका कारण स्वतन्त्रको मतभार शून्य रहेको छ ।







