मकवानपुरमा तीन महिने लागुऔषध विरुद्ध जिल्ला स्तरीय अभियान

अखबार हब
२०८२ माघ ९, बिहीबार २०:३१

हेटौंडा । लागुऔषध दुर्व्यसन समाजको गम्भीर चुनौतीका रूपमा देखिँदै गएको वर्तमान अवस्थामा मकवानपुर जिल्लामा लागुऔषध नियन्त्रण तथा पुनर्स्थापनालाई एकीकृत ढङ्गले अघि बढाउने उद्देश्यसहित ३ महिने जिल्ला स्तरीय लागुऔषध विरुद्ध अभियान सुरु गरिएको छ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरको आयोजना तथा सिआन पुनर्स्थापना केन्द्रको व्यवस्थापनमा सञ्चालन हुने यो अभियानलाई जिल्लाको रोकथाम, उपचार, पुनर्स्थापना र सामाजिक पुनःएकीकरणलाई एउटै साझा ढाँचामा जोडिएको उदाहरणीय पहलका रूपमा लिइएको छ।

अभियानको औपचारिक सुरुवात कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले लागुऔषध दुर्व्यसन केवल स्वास्थ्य समस्या मात्र नभई सामाजिक, आर्थिक र सुरक्षा चुनौतीसमेत भएको उल्लेख गर्दै यसविरुद्ध सबै निकाय एकजुट हुनुपर्नेमा जोड दिए।

“लागुऔषध विरुद्धको लडाइँ कुनै एक संस्थाको जिम्मेवारी होइन। यसमा राज्य, परिवार, विद्यालय, समुदाय र नागरिक समाज सबैको साझा भूमिका हुन्छ। मकवानपुरमा सुरु गरिएको यो ३ महिने अभियान व्यवहार परिवर्तन र दीर्घकालीन समाधानतर्फको ठोस कदम हो,” उनले भने । उनले जिल्ला प्रशासन कार्यालयले नीति, समन्वय र नेतृत्वको भूमिकाबाट स्थानीय तह, सुरक्षा निकाय, शिक्षा संस्था र स्वास्थ्य क्षेत्रबीच सहकार्यलाई थप सुदृढ गर्दै अभियानलाई परिणाममुखी बनाइने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. प्रदीप ज्ञावलीले लागुऔषध दुर्व्यसनलाई सार्वजनिक स्वास्थ्य संकटका रूपमा लिँदै उपचार, अनुसन्धान र समुदाय आधारित हस्तक्षेपलाई प्राथमिकतामा राख्नुपर्ने धारणा राखेका छन् । “लागुऔषध दुर्व्यसनको प्रभाव व्यक्तिसम्म सीमित हुँदैन, यसले परिवार र समग्र समाजलाई असर गर्छ। उपचार र पुनर्स्थापनामा पहुँच विस्तार गर्नुका साथै वैज्ञानिक, मानव–केन्द्रित र सम्मानजनक सेवा प्रवाह अत्यन्त आवश्यक छ। यस अभियानमा प्रतिष्ठानको तर्फबाट आवश्यक प्राविधिक तथा शैक्षिक सहकार्य रहनेछ,”

अभियान अन्तर्गत विद्यालय तथा क्याम्पस सचेतना कार्यक्रम, युवा तथा विद्यार्थी केन्द्रित संवाद, समुदाय आधारित अन्तरक्रिया, सूचनामूलक पम्प्लेट वितरण, मुख्य स्थानहरूमा होर्डिङ बोर्ड स्थापना, पालिका स्तरीय समन्वय बैठक, सडक नाटक तथा रचनात्मक कार्यक्रम, महिला लक्षित सचेतना, अभिभावक परामर्श सत्र, घरदैलो सचेतना, हेल्प डेक्स सञ्चालन तथा उपचार र पुनर्स्थापनाका लागि सेवा सन्दर्भ कार्यक्रम सञ्चालन गरिनेछ।

अभियानको व्यवस्थापन जिम्मेवारी लिएको सिआन पुनर्स्थापना केन्द्रले पुरुष तथा महिलाका लागि छुट्टाछुट्टै पुनर्स्थापना सेवा सञ्चालन गर्दै आएको उल्लेख गर्दै, आफ्नो दीर्घ अनुभव, समुदायसँगको विश्वास र मानव–केन्द्रित दृष्टिकोण प्रयोग गरी अभियानलाई प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको छ।

कार्यक्रममा आयोजकहरूले “लागुऔषध विरुद्धको लडाइँ सामूहिक जिम्मेवारी हो” भन्ने सन्देशसहित मकवानपुर जिल्लाका सम्पूर्ण नागरिक, स्थानीय सरकार, शिक्षा संस्था, सञ्चारकर्मी र नागरिक समाजलाई अभियानमा सक्रिय सहभागिताका लागि आह्वान गरेका छन्।

यस अभियानले लागुऔषध दुर्व्यसन विरुद्ध चेतनामा मात्र सीमित नभई व्यवहार परिवर्तन, कलङ्क न्यूनीकरण र दीर्घकालीन समाधानतर्फ समाजलाई अघि बढाउने दृढ अपेक्षा गरिएको छ।

यसमा तपाइको मत

Your email address will not be published.


*