रास्वपा मकवानपुरमा उम्मेदवार चयनप्रति तीव्र असन्तुष्टि: ‘नाम नयाँ हुँदैमा चरित्र नयाँ हुँदैन’
हेटौंडा। फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचन नजिकिँदै गर्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्रको आन्तरिक कलह सतहमा आएको छ।
मकवानपुर जिल्लाका दुई निर्वाचन क्षेत्रमा पार्टीले तय गरेका उम्मेदवारहरूको विषयलाई लिएर सामाजिक अभियन्ता तथा रास्वपाका नेता विशाल राज महतले सामाजिक सञ्जालमार्फत असन्तुष्टि व्यक्त गरेका छन्।
रास्वपाले मकवानपुर क्षेत्र नम्बर १ मा जिल्ला उपसभापति प्रकाश गौतम र क्षेत्र नम्बर २ मा युवा उम्मेदवार प्रशान्त उप्रेतीलाई अघि सारेको छ। क्षेत्र नम्बर २ का उम्मेदवार उप्रेती जिल्लामा खासै परिचित नभए पनि पार्टी नेतृत्वसँगको निकटताका कारण टिकट पाएको चर्चाका बीच महतको यस्तो टिप्पणी आएको हो।
महतले रास्वपाले लिएको उम्मेदवार छनोट प्रक्रियालाई ‘गलत प्रवृत्ति’ को संज्ञा दिएका छन्। उनले पार्टीभित्र हुर्किँदै गरेको ‘दास मानसिकता’ र ‘शक्ति पूजा’ गर्ने प्रवृत्तिको कडा आलोचना गर्दै रास्वपाले पुराना पार्टीहरूकै शैलीलाई पछ्याएको आरोप लगाएका छन्।
“वैकल्पिक भनेर उदाएको रास्वपाले उम्मेदवार छनोटमा व्यापक चलखेल गरेको छ। अवसरवादी र माननीय पदलाई लाभको पद ठान्नेहरूलाई अघि सारिएको छ,” महतले लेखेका छन्। उनले पार्टीभित्र आलोचना गर्ने ठाउँ निषेध गरिएको भन्दै कार्यकर्ताहरूलाई ‘झोले’ नबन्न र विवेकको प्रयोग गर्न आग्रह गरेका छन्।
महतको यो आक्रोशले रास्वपाभित्रको लोकतान्त्रिक अभ्यास र ‘प्राइमरी इलेक्सन’ भनिए पनि व्यवहारमा नेताहरूको खल्तीबाट उम्मेदवार छानिने गरेको आरोपलाई फेरि एकपटक बल पुर्याएको छ। “नाम नयाँ हुँदैमा चरित्र नयाँ हुँदैन,” भन्दै उनले मकवानपुरका जनतालाई भावनामा नबगी विवेकले निर्णय गर्न अपिल गरेका छन्।
यो घटनाले आगामी निर्वाचनमा मकवानपुरमा रास्वपाको नतिजालाई कस्तो असर पार्छ भन्ने कुरा चासोको विषय बनेको छ। पार्टी नेतृत्वले भने यसबारे हालसम्म कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन।







