मकवानपुरका १६७ वटा मतदानस्थल मध्ये ‘अति संवेदनशील’ कति ?

अखबार हब
२०८२ माघ ५, आईतवार २२:०४

हेटौंडा । आगामी फागुन २१ गतेको लागि तय भएको प्रतिनिधिसभा निर्वाचनमा मकवानपुरका १६७ वटा मतदानस्थल मध्ये १९ वटा अति संवेदनशील सूचीमा राखिएको छ ।

जिल्ला सुरक्षा समितिको बैठकले सुरक्षा संवेदनशीलताको आधारमा ६ स्थानीय तहमा रहेका १९ मतदानस्थल अति संवेदनशील सूचीमा राखेको हो। ६० मतदानस्थल संवेदनशील र ८८ वटा सामान्य श्रेणीमा राखिएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी पुस्कर बोगटीले बताए। उनका अनुसार अति संवेदनशील सूचीमा परेका १९ मतदानस्थलमा २६ मतदान केन्द्र रहेका छन् ।

सबैभन्दा धेरै बकैया गाउँपालिकामा ५ मतदानस्थलका ७ मतदान केन्द्र अति संवेदनशीलमा राखिएको छ । राक्सिराङ गाउँपालिकामा ६ मतदान स्थल र ६ केन्द्र, बागमती गाउँपालिकामा ५ स्थल र ६ केन्द्र, भीमफेदी गाउँपालिकामा १ स्थल र ३ केन्द्र, मनहरी गाउँपालिकामा १ स्थल र ३ केन्द्र तथा कैलाश गाउँपालिकामा १ मतदान स्थल र १ मतदान केन्द्र अति संवेदनशीलको सूचीमा राखिएको जिल्ला सुरक्षा समितिले जनाएको छ ।

यसैगरी जिल्लामा ६० मतदान स्थल र १ सय २३ मतदान केन्द्र संवेदनशील सूचीमा राखिएका छन् । मकवानपुरमा मतदाता संख्या बढेकाले ७ वटा मतदान केन्द्र थप गरिएको प्रदेश निर्वाचन कार्यालय हेटौंडाका प्रमुख हरिप्रसाद ढकालले बताए । अघिल्लो निर्वाचनमा ३६७ मतदान केन्द्र थिए भने अहिले ३७४ मतदान केन्द्र बनाइएको उनले बताए।

अहिले १४ हजार १ सय २१ जना मतदाता थपिएकाले मतदाताको संख्या ३ लाख १५ हजार ३ सय ३४ पुगेको छ । अघिल्लो निर्वाचनमा मकवानपुरमा ३ लाख २ हजार २ सय ४३ जना मतदाता रहेका थिए ।

प्रतिनिधिसभाको २ वटा निर्वाचन क्षेत्र रहेको मकवानपुरमा निर्वाचन क्षेत्र नम्बर १ मा ६२ मतदानस्थल र १७८ मतदान केन्द्र रहेका छन् भने निर्वाचन क्षेत्र नम्बर २ मा १०५ मतदानस्थल र १९६ मतदान केन्द्र तोकिएका छन् । क्षेत्र नम्बर १ मा १ लाख ५८ हजार ४३५ मतदाता रहेका छन् भने क्षेत्र नम्बर २ मा १ लाख ५६ हजार ८९९ मतदाता छन् ।

हेटौंडा उपमहानगरपालिका-११ स्थित प्रादेशिक कृषि तरकारी थोक बजारको भवनमा मकवानपुर निर्वाचन क्षेत्र नम्बर–१ र २ का लागि कार्यालय स्थापना गरिएको छ । मुख्य निर्वाचन अधिकृतमा जिल्ला न्यायाधीश गीता श्रेष्ठ र निर्वाचन अधिकृतमा जिल्ला सरकारी वकिलको कार्यालय मकवानफुरका जिल्ला न्यायाधीवक्ता देवेन्द्रराज आचार्यलाई नियुत्त गरिएको छ । क्षेत्र नम्बर १ मा श्रेष्ठ र निर्वाचन क्षेत्र नम्बर २ मा आचार्यलाई खटाइएको प्रदेश निर्वाचन कार्यालय हेटौंडाले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*