एमालेले टुंग्यायो प्रत्यक्षतर्फका उम्मेदवार, मकवानपुरमा राना र बर्तौला
हेटौंडा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि नेकपा एमालेले प्रत्यक्षतर्फका उम्मेदवारहरुको नाम टुंगो लगाएको छ । शनिवार राती सम्पन्न एमाले केन्द्रीय सचिवालय बैठकले प्रत्यक्षतर्फका १४० उम्मेदवारको टुंगो लगाएको हो ।
बैठकले मकवानपुर क्षेत्र नम्बर १ मा एमाले केन्द्रीय सदस्य तथा मकवानपुर इञ्चार्ज रामेश्वर रानालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । २०७९ को निर्वाचनमा पनि सोही क्षेत्रबाट रानालाई उम्मेदवारको रुपमा एमालेले अघि सारेको थियो । तर, पछि कमल थापालाई सूर्य चिन्हबाट उम्मेदवार बनाइएपछि राना ब्याक भएका थिए ।
यता, मकवानपुर–२ मा एमालेले केन्द्रीय सदस्य तथा निवर्तमान प्रतिनिधिसभा सदस्य महेश बर्तौलालाई नै दाहोर्याउने निर्णय गरेको छ । अघिल्लो चुनावमा विरोध खतिवडालाई पराजित गरेका बर्तौला प्रतिनिधिसभामा निर्वाचित भएपछि एमाले अध्यक्ष केपी ओलीको निकट रहेर काम गरिरहेका नेता हुन् ।







