लागुऔषधसहित मकवानपुरबाट दुई युवक पक्राउ
हेटौँडा। मकवानपुर प्रहरीले इन्द्रसरोवर गाउँपालिकाबाट लागुऔषधसहित दुई युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रौतहट परोहा नगरपालिका–६ का २३ वर्षीय शेख महफुल आलम र सोही स्थानका २० वर्षीय शाहिल शेख रहेका छन्।
हेटौँडा–कुलेखानी–काठमाडौं सडकखण्डअन्तर्गत पर्ने इन्द्रसरोवर गाउँपालिका–२ सिमखोलास्थित खानीखेत प्रहरी चौकीबाट खटिएको प्रहरीले हेटौडाबाट काठमाडौंतर्फ गइरहेको बा ५१ प २२०९ नम्बरको मोटरसाइकल रोकी चेकजाँच गर्ने क्रममा मोटरसाइकलको सिटमुनि प्लास्टिकको पोका भित्र लुकाएर ल्याएको २०० पिस नाइट्रोजेपाम बरामद गरेको हो।
प्रहरीले लागुऔषधसहित मोटरसाइकल चालक आलम र मोटरसाइकल पछाडि सवार शेखलाई नियन्त्रणमा लिएर कानुनी कारबाहीका लागि थप अनुसन्धान गरिरहेको जनाएको छ।







