२०८४ सम्ममा वडालाई कच्ची, खाल्डाखुल्डी र डुबानमुक्त बनाउँछौँ : सिग्देल 

अखबार हब
२०८२ मंसिर १, आईतवार २१:१७

हेटौँडा। हेटौँडा उपमहानगरपालिका वडा नं. ४ लाई २०८४ सालसम्म कच्ची, खाल्डाखुल्डी र डुबानमुक्त गरिने वडा अध्यक्ष नवीन सिग्देलले प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

लक्ष्मी टोल विकास संस्थाको आठौँ साधारणसभाको उद्घाटन गर्दै अध्यक्ष सिग्देलले वडा नं. ४ हेटौँडाको मुख्य बजार क्षेत्र र मुटुको वडा भएकाले यसलाई व्यवस्थित सहर र बस्ती बनाउन कच्ची सडक तथा खाल्डाखुल्डीबाट मुक्त गरिने बताउनुभयो।

वडा अध्यक्ष सिग्देलले सङ्घीय सरकार, प्रदेश सरकार र उपमहानगरपालिकासँग समन्वय गरी वडाका सबै सडकहरूको स्तरीकरणको कार्य अगाडि बढाउन लागिपरेको कुरा कामबाटै नगरवासीमा छर्लङ्ग भएको दाबी गर्नुभयो। उहाँले सडक पूर्वाधारसँगै शिक्षा, स्वास्थ्य, खेलकुद, वातावरण, भाषा, साहित्य, संस्कृति, युवा, महिला, विद्यार्थी तथा वृद्धवृद्धाको विभिन्न क्षेत्रमा पनि कार्य भइरहेको जानकारी दिनुभयो।

टोल विकास संस्थाका अध्यक्ष शान्ति बरालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा टोल विकास संस्था नगर समन्वय समितिका महासचिव शिवहरि दाहाल र टोल विकास संस्था वडा समन्वय समितिका सदस्य इन्द्रबहादुर थापा मगरको विशेष आतिथ्यता रहेको थियो। साधारणसभाले पुनः शान्ति बरालको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरेको संस्थाकी प्रतिनिधि आशा ढकालले जानकारी दिनुभयो।

यसमा तपाइको मत

Your email address will not be published.


*