मकवानपुरमा ३० बिघाभन्दा बढी क्षेत्रफलको अवैध गाँजा खेती नष्ट
हेटौंडा । मकवानपुरको उत्तरी भेगमा लगाइएको ठूलो क्षेत्रफलको अवैध लागूऔषध गाँजा खेती फडानी गरी नष्ट गरिएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुर र सशस्त्र प्रहरी बल नेपालको संयुक्त टोलीले चार दिन लगाएर अन्दाजी ३० बिघा १० कठ्ठा जमिनमा लगाइएको गाँजाको बोट र बेर्नाहरू नष्ट गरेको हो।
लागूऔषध नियन्त्रण र न्यूनीकरण अभियानअन्तर्गत सुरक्षा निकायले कार्तिक १७ गतेदेखि बिहिवार सम्म विशेष अभियान चलाएको थियो। अभियानमा जिल्ला प्रहरी कार्यालय मकवानपुर र सशस्त्र प्रहरी बल नेपाल नं. १४ गण हेटौंडा मकवानपुरबाट गरी १०२ जनाको सुरक्षाकर्मीको टोली परिचालन भएको थियो।
सुरक्षा टोलीले मकवानपुरका दुर्गम तथा उत्तरी भेगमा केन्द्रित भएर गाँजा खेती नष्ट गरेको हो। जसमा राक्सीराङ गाउँपालिका अन्तर्गतका चिसापानी, बेल्टार, टेम्टा, गोरेटार र देबुटार क्षेत्रहरू, कैलाश गाउँपालिका अन्तर्गतका सातकन्या, खैरेनी र जोईटी क्षेत्रहरू र भिमफेदी गाउँपालिका अन्तर्गतको भदौरे ज्यार्बु लगायतका विभिन्न वडा क्षेत्रहरूमा गरिएका अवैध खेतीहरू पूर्णरूपमा फडानी गरी नष्ट गरिएका छन्।
गैरकानुनी रूपमा गरिएको गाँजा खेतीले समाजमा लागूऔषधको दुरुपयोग तथा आपराधिक क्रियाकलाप बढाउन सहयोग पुर्याउने हुँदा, यस बृहत् अभियानलाई जिल्लामा शान्ति सुरक्षा कायम गर्ने र लागूऔषध कारोबारको सञ्जाललाई तोड्ने महत्त्वपूर्ण प्रयासका रूपमा लिइएको छ।








