मेयरमाथि धम्कीको घटनामा वडाध्यक्ष सिग्देलको आपत्ति: “तत्काल अपराधीलाई कानुनी दायरामा ल्याइयोस्”
हेटौंडा । हेटौंडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामामाथि भइरहेको निरन्तरको धम्की र चरित्र हत्याको प्रयासको घटना सार्वजनिक भएपछि हेटौंडा वडा नम्बर ४ का अध्यक्ष नवीन सिग्देलले कडा शब्दमा आपत्ति जनाउँदै तत्काल कारबाहीको माग गर्नुभएको छ ।
मेयर लामाले सामाजिक सञ्जाल फेसबुकमार्फत आफूलाई बलात्कार गर्ने धम्की लगायतका आपत्तिजनक सन्देशहरू आइरहेको सार्वजनिक गरेलगत्तै वडाध्यक्ष सिग्देलले पनि सोही माध्यमबाट प्रतिक्रिया दिँदै घटनाको घोर भर्त्सना गर्नुभएको हो ।
वडाध्यक्ष सिग्देलले मेयर लामा केवल व्यक्ति नभएर स्थानीय सरकारको प्रमुख हुनुहुन्छ भन्दै उहाँमाथि भएको ‘हर्कत’ ले आफूहरूलाई अचम्मित, दुखित र आक्रोशित बनाएको बताउनुभएको छ ।
उहाँले आफ्नो भनाइमा मेयर जस्तो व्यक्ति नै असुरक्षित हुने अवस्था आएको भन्दै “सर्वसाधारणको हालत के होला” भन्ने गम्भीर प्रश्न उठाएका छन् ।
तत्काल कारबाहीको माग
वडाध्यक्ष सिग्देलले मेयर लामामाथि भएको यस प्रकारको अनैतिक धम्की र आपराधिक मनसायले गरिएका सबै कुकर्मको घोर भर्त्सना गर्नुभएको छ ।
उहाँले यो गम्भीर घटनामा संलग्न पीडकलाई तत्काल अनुसन्धान गरी हदैसम्मको कानुनी दायरामा ल्याउन जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय समक्ष जोडदार माग गर्नुभएको छ ।
जनप्रतिनिधिहरू जनताको अपेक्षा अनुसार काम गरिरहेको, सीमित साधन स्रोतका कारण सबै अपेक्षा पूरा नभएको हुनसक्ने भए पनि आपराधिक धम्की सहनु नपर्ने उहाँको भनाइ छ ।









