हेटौंडा ‘महिला मैत्री सहर’ घोषणा प्रक्रियामा, मेयरलाई बलात्कारको धम्की

अखबार हब
२०८२ कार्तिक १९, मंगलवार २२:२२

हेटौंडा। बलात्कारका धम्कीबीच पनि हेटौंडा उपमहानगरपालिकाकी नगर प्रमुखले ‘महिला मैत्री सहर’ घोषणा गर्ने तयारी अघि बढाएकी छन्।

मंगलबार हेटौंडा उपमहानगरपालिका र संयुक्त राष्ट्रसंघीय परियोजना सेवा कार्यालय (UNOPS) बीच ‘महिला मैत्री सहर’ घोषणाका लागि सहयोग सम्झौतामा हस्ताक्षर भएको छ। सम्झौता सम्पन्न भएपछि मेयरले सामाजिक सञ्जालमार्फत आफूले निरन्तर बलात्कारका धम्की भोगिरहेको गहिरो पीडा व्यक्त गरेकी छन्।

उनका अनुसार हेटौंडा उपमहानगरपालिकाको क्षेत्राधिकारभित्रका नागरिकलाई प्राथमिकता दिन खोज्दा आफूलाई ‘मधेश प्रदेश विरोधी’ भन्दै अनलाइनमा अपशब्द र धम्कीको शिकार बनाइयो।

“फेसबुक र ह्वाट्सएपका इनबक्समा बलात्कारका धम्कीका सन्देश पढ्नै नसकिने थिए, राति राति फोन गरेर भेटेर कुरा मिलाऔं भन्ने प्रस्ताव आउँथ्यो,” उनले लेखेकी छन्।

“एउटा नगर प्रमुखलाई निरन्तर बलात्कार गर्ने धम्की आउँछ भने सामान्य नारीहरू कति सुरक्षित होलान्?” भन्दै उनले समाजमा विद्यमान नारी सुरक्षाको अवस्था प्रति गम्भीर प्रश्न उठाएकी छन्।

उनले थपेकी छन्, “एउटी महिलाले गल्ती गरिन् भने सजाय बलात्कार हुनुपर्छ? कि कानुनी प्रक्रिया?”

बलात्कारको धम्कीबीच पनि हेटौंडालाई ‘महिला मैत्री सहर’ घोषणा गर्ने पहल अघि बढ्दा मेयरले मिश्रित भावना व्यक्त गरेकी छन्—“मनमा उदासी पनि छ, तर हेटौंडाका आमा र दिदीबहिनीका लागि महत्वपूर्ण काम भएकोमा सन्तोष पनि।”

सम्झौतामा सक्रिय भूमिका निर्वाह गर्ने UNOPS का कन्ट्री डाइरेक्टर कोमल कार्की, सरोज दाहाल, सम्पदा थापा, वडा अध्यक्ष राम थापा र नविन सिग्देल लगायत प्रमुख प्रशासकीय अधिकृत भरत गौतम, इन्जिनियर बिनित ओझा, नगर कर्मचारी र सरोकारवालालाई उनले धन्यवाद दिएकी छन्।

“एउटी नारी बलात्कृत हुन जन्मिएकी होइन, एउटी नारीको उपयोगिता यौन होइन, र गल्तीको सजाय बलात्कार होइन,” भन्दै मेयरले अन्त्यमा समाजको नकारात्मक सोचलाई सकारात्मकतामा रूपान्तरण गर्नु नै सबैभन्दा ठूलो चुनौती रहेको बताएकी छन्।

तर मेयर लामाले आफुलाई कस्ले बलात्कारको धम्कीसहितको मेसेज पठायो भन्ने बारे भने खुलाएकी छैन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*