क्षतिको दाबी भुक्तानी छिटो फर्छ्यौट गर्न बिमा प्राधिकरणको निर्देशन

काठमाडौं । बिमा प्राधिकरणले बिहीबार निर्देशन जारी गर्दै परेका दाबी छिटो फर्छ्यौट गर्न र दाबीको तथ्यांक आफूलाई पठाउन बिमा कम्पनीहरूलाई निर्देशन दिएको छ ।
‘यही भदौ २३ देखि उत्पन्न असहज परिस्थितिका कारण बिमितको धनसम्पत्तिमा हुन गएको क्षति र असहजतालाई दृष्टिगत गर्दै त्यसबाट पर्न सक्ने दाबीलाई यथासम्भव छिटो र सहज ढंगले फर्छ्यौट गर्नुहुन निर्देशानुसार अनुरोध गरिन्छ,’ प्राधिकरणले जारी गरेको निर्देशनमा उल्लेख छ ।
प्रदर्शनका क्रममा धेरै भौतिक संरचनामा क्षति पुगे पनि त्यसको यकिन विवरण आएको छैन । क्षति भएका सम्पत्तिमध्ये पनि कतिको बिमा गरिएको छ, टुंगो छैन । बिहीबारसम्म बिमा कम्पनी खुलेका छैनन् । यसकारण क्षतिमध्ये कतिको बिमा भएको र कति रकमको दाबी परेको छ भन्ने यकिन तथ्यांक छैन ।