निजामती सेवा दिवसको अवसरमा ब्लु बुक नवीकरण सेवा सुरु

ललितपुर । २२औं निजामती सेवा दिवसको अवसरमा सवारी चालक अनुमतिपत्र कार्यालय, एकान्तकुना ललितपुरबाट दुई पाङ्ग्रे सवारीसाधनको सवारी किताब (ब्लु बुक) नवीकरण सेवा सुरु गरिएको छ।
आइतबार आयोजित कार्यक्रमका बीच बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री माननीय जयराम थापाले उक्त सेवाको उद्घाटन गर्नुभयो। सेवाको शुभारम्भ गर्दै मन्त्री थापाले यातायात व्यवस्था क्षेत्रमा प्रविधिमैत्री र सहज सेवाको आवश्यकता औँल्याउँदै नयाँ सुविधा सञ्चालनमा आएपछि सेवाग्राहीलाई एउटै कामका लागि फरक–फरक कार्यालय धाउनुपर्ने बाध्यता हट्ने विश्वास व्यक्त गर्नुभयो। उहाँका अनुसार यसले समय, खर्च र प्रक्रियामा सहजता ल्याउनेछ। साथै मन्त्रालयले छिट्टै यही कार्यालयमार्फत सवारी चालक अनुमतिपत्र छपाइ तथा वितरण सेवा पनि सुरु गर्ने तयारी गरिरहेको जानकारी दिनुभयो।
कार्यालय प्रमुख केशव कुमार जि.एम. का अनुसार उपलब्ध दरबन्दीअनुसार कर्मचारी परिचालन गरी दैनिक १,५०० देखि २,००० सेवाग्राहीलाई सेवा दिन सकिने व्यवस्था मिलाइएको छ। हाल कार्यालयले दैनिक करिब २००–३०० सवारी चालक अनुमतिपत्र नवीकरण गर्दै आएको र त्यति नै संख्यामा नयाँ अनुमतिपत्रको आवेदन दर्ता गर्ने कार्य भइरहेको पनि उहाँले जानकारी दिनुभयो।
उद्घाटन कार्यक्रममा मन्त्रालयका अधिकारी, कर्मचारी तथा सेवाग्राहीहरूको उपस्थिति रहेको थियो। निजामती सेवा दिवसकै अवसरमा सुरु गरिएको यस सेवालाई प्रदेशस्तरमा नागरिकमैत्री कदमको रूपमा लिइएको छ ।