मनहरीको बाटो नक्साङ्कनमा स्थानीयको असन्तुष्टि

अखबार हब
२०८२ भाद्र १५, आईतवार २१:०९

हेटौंडा। मकवानपुरको मनहरी गाउँपालिका–१ मा भइरहेको बाटो नक्साङ्कन कार्यप्रति स्थानीय बासिन्दा असन्तुष्ट बनेका छन् ।

आइतबार उक्त बिषयमा मनहरी गाउँपालिका–१ सचीव र सम्पूर्ण टोल विकाससमितिका प्रतिनिधिहरुलाई वडाका नागरिकहरुले ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

प्रभावित नागरिकहरूले मनपरी र अदूरदर्शी ढङ्गले काम भइरहेको भन्दै ध्यानाकर्षण पत्रमार्फत तत्काल सुधारको माग गरेका छन् ।

ध्यानाकर्षण पत्रमा उल्लेख भए अनुसार नक्साङ्कनका कारण धेरै घर परिवारको जमिन काटिएको छ भने, कतिपय स्थानीय लाई घर भत्काउनुपर्ने समस्या आइपरेको छ । जसले जनजीवन अस्तव्यस्त बनाएको स्थानीयहरूको गुनासो छ ।

ध्यानाकर्षण पत्रमा “जसको जमिन बाटोमा परेको छ, तिनको सहमति किन लिइएन? विवाद हुँदा समेत टोल विकास समिति र जनप्रतिनिधिको सल्लाह विना बाटो प्रयोग गर्ने अधिकार कसरी दिइयो? फिल्डमा काम गर्दा जनतालाई जानकारी किन दिइएन? प्रभावित जनतालाई अन्धकारमा राखेर नवसङ्कन किन अघि बढाइयो?” लगायतका प्रश्न प्रभावित नागरिकले उठाएका छन् ।

स्थानीयहरूले तत्काल नक्साङ्कन प्रक्रिया पुनः मूल्यांकन गर्न, प्रभावित जनताको सहमति लिएर मात्र कार्य अघि बढाउन, मनपरी र अदूरदर्र्शी योजना तत्काल सच्याउन र जनप्रतिनिधि तथा समितिका पदाधिकारीहरूले आफ्नो जिम्मेवारी पूरा गर्न माग गरेका छन् ।

साथै, यदि ७ दिनभित्र माग सम्बोधन नभएमा वडाभरिका जनतालाई भेला बोलाई सामूहिक आन्दोलनमा जाने चेतावनी स्थानीयहरूले दिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*