एमबीबीएस पढाउन ५० सिट स्वीकृति, हेटौंडा स्वास्थ्य शिक्षा हबको दिशामा अघि बढ्दै
हेटौंडा । मकवानपुरको हेटौंडा स्वास्थ्य शिक्षाको हबको दिशामा अगाडि बढेको छ ।
चिकित्सा शिक्षा आयोगले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई यसै शैक्षिक सत्रदेखि एमबीबीएस (MBBS) पढाउनका लागि ५० सिट स्वीकृति प्रदान गरेको छ। यो स्वीकृतिले प्रदेशमा मात्र नभई मुलुकको स्वास्थ्य शिक्षा क्षेत्रमा हेटौंडाको नामलाई फैलाउन मद्दत हुने देखीएको छ ।
प्रतिष्ठानमा यसअघि नै विभिन्न स्नातक तहका कार्यक्रम सञ्चालनमा छन्। ( बीएस्सी ) BSc नर्सिङ कार्यक्रमलाई अझ प्रभावकारी बनाउन यस वर्ष २० सिटबाट बढाएर ३० सिट पुर्याइएको छ। मेडिकल ल्याब टेक्नोलोजी (BMLT) र पब्लिक हेल्थ (BPH) कार्यक्रम भने २०/२० सिट कायम रहेका छन् ।
यस्तै, ब्याचलर अफ फार्मेसी (B-Pharmacy) कार्यक्रम ३० सिटकै संरचनामा निरन्तर सञ्चालन हुनेछ।
स्नातक तहका यी कार्यक्रमहरूसँगै, प्रतिष्ठानले स्नातकोत्तर तहमा पनि नयाँ उपलब्धि हासिल गरेको छ। यसै शैक्षिक वर्षदेखि (एमडी)MD को सात वटा विषयमा अध्ययन सुरु हुने भएको छ, जसमा कुल ८ सिट स्वीकृति प्रदान गरिएको छ। स्त्री तथा प्रसूति विभागमा २ सिट, फिजिसियन, जनरल सर्जरी, बालरोग, हाडजोर्नी तथा नशारोग , फेमिली फिजिसियन र एनेस्थेसियोलोजीमा एक–एक सिट रहेको छ।
चिकित्सा अध्ययनका लागि आफ्नै प्रदेशमै अवसरका साथै देशभरका विद्यार्थीहरूलाई आकर्षित गर्ने सम्भावना पनि बढाएको पुर्वमुख्यमन्त्री डोरमणि पौडेलले बताउनुभएको छ। उहाँले भन्नुभयो ” मुख्यमन्त्री हुँदा सुरुवात गरेको यो प्रतिष्ठानले उत्पादन गरेको जनशक्तिले स्वास्थ्य सेवा प्रदान गर्न अब धेरै समय लाग्दैन ।”
स्वीकृत सिट संख्या वृद्धि र नयाँ कार्यक्रम थपिएको यस कदमले प्रतिष्ठान प्रदेशकै स्वास्थ्य शिक्षा र अनुसन्धानको स्थानको रूपमा स्थापित हुने बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले बताउनुभयो ।
प्रतिष्ठानले स्वास्थ्य शिक्षा विस्तारसँगै विशेषज्ञ चिकित्सक उत्पादन, गुणस्तरीय उपचार सेवा, र आधुनिक अनुसन्धान प्रवर्द्धन गर्दै आएको पनि उहाँले जानकारी दिनुभयो ।
प्रतिष्ठान अन्तर्गत संचालित हेटौंडा अस्पतालमा छिमेकी प्रदेशको समेत उपचारका लागि आउने गरेको प्रतिष्ठानका उपकुलपति डा. प्रदिप ज्ञवालीले जानकारी दिनुभयो । अहिले उपचारका लागि दैनिक १ हजार ५ सय भन्दा बढीले सेवा लिई रहेका छन् ।
प्रतिष्ठानबाट बागमती प्रदेशले मात्र होइन, देशभरका नागरिकले दीर्घकालीन लाभ लिन सक्ने डा. ज्ञवालीको भनाई छ।
प्रदेशकै गौरवको आयोजना २०७६ मा प्रदेशसभाबाट मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन जारी गरिएको थियो । स्थापनाको १ वर्ष पछि प्रतिष्ठानमा २०७७ साउन १५ मा प्रतिष्ठानको उपकुलपति र भदौ १५ गते अन्य पदाधिकारी नियुक्त गरी कार्य प्रारम्भ गरिएको थियो ।







