हेटौंडामा महिनाभर श्रीकृष्ण जन्माष्टमी महोत्सव

अखबार हब
२०८२ श्रावण २९, बुधबार २०:४८

हेटौंडा । श्रीकृष्ण प्रणामी युवा परिषद नेपाल, प्रारम्भिक समिति हेटौंडा–४, अक्षरातित धामद्वारा हरेक वर्ष श्रावण महिनामा श्रीकृष्ण जन्माष्टमी पर्वलाई लक्षित गर्दै सञ्चालन हुने सप्ताहव्यापी धार्मिक तथा सामाजिक कार्यक्रम यस वर्ष महिनाभर सञ्चालन गरिएको छ। परिषदले यस वर्ष ७ वटा वृहद कार्यक्रमको आयोजना गरेको हो।

परिषदको प्रथम कार्यक्रमअन्तर्गत श्रावण १० गते श्रीकृष्ण प्रणामी मन्दिर, हेटौंडा–४ (अक्षरातित धाम) परिसरमा दन्त शिविर तथा रक्तदान कार्यक्रम गरेको थियो । राप्ति डेन्टल क्लिनिक र नेपाल रेडक्रस सोसाइटीको प्रायोजनमा आयोजित कार्यक्रममा दन्त सेवाबाट करिब ५० जनाले लाभ लिए भने ३० जनाले रक्तदान गरेको समितिका सह-कोषाध्यक्ष पृथ्वी नेपालले जानकारी दिए ।

श्रावण २० गते दोस्रो कार्यक्रम अन्तर्गत त्रिवेणी धाम, हेटौंडा–९ मा तुलसी रोपण तथा ‘मुक्ति मञ्जरी’ निर्माण गरी उद्घाटन गरिएको थियो ।

तेस्रो कार्यक्रम श्रावण २२ गते श्री संस्कृत वेद विद्यालय, हेटौंडा–१० मा आयोजना गरियो, जसमा खाद्यान्न, स्टेशनरी तथा सिलिङ फ्यान प्रदान गरिएको थियो। उक्त कार्यक्रम हेटौंडा उपमहानगरपालिकाका उप–प्रमुखको प्रमुख आतिथ्यतामा सम्पन्न सह-कोषाध्यक्ष नेपालले जानकारी दिए ।

श्रावण २७ गते चौथो कार्यक्रमअन्तर्गत श्रीकृष्ण प्रणामी मन्दिर परिसरमा बालबालिकाबीच खुला धार्मिक वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको हो ।

पाँचौँ कार्यक्रमअन्तर्गत श्रावण ३० गते लक्ष दीप (लाख बत्ती) प्रज्वलन कार्यक्रम आयोजना गरिने आयोजकले बताएको छ ।

त्यसैगरी श्रावण ३१ गते बिहान श्रीकृष्ण जन्माष्टमीको विशेष कार्यक्रम सञ्चालन गर्दै मट्का फोड्ने प्रतियोगिता गरिने छ ।

जन्माष्टमीको दिन दिनभर विविध धार्मिक कार्यक्रमसँगै झाँकीसहितको र्‍यालीसमेत निकाल्ने तयारी भैरहेको आयोजकले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*