वडाध्यक्ष खनालको पढ्ने रहर, ५२ वर्षे उमेरमा स्नातक अध्यन गर्न क्याम्पस भर्ना
हेटौँडा । मनहरी गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष शिवप्रसाद खनाल ५२ वर्षको उमेरमा स्नातक अध्ययनको लागि क्याम्पस भर्ना भएका छन् । आफैँ व्यवस्थापन समितिको अध्यक्ष रहेको विद्यालयबाट गत वर्ष १२ कक्षा उत्तीर्ण गरेका खनालले मंगलबार हेटौँडा–१९ बस्तीपुरस्थित निर्मल बहुमुखी क्याम्पसमा शिक्षाशास्त्र संकायतर्फ स्नातक तहमा भर्ना गरेका हुन् ।
मनहरी गाउँपालिका १ नम्बर वडाको दोस्रो कार्यकालका लागि वडाध्यक्ष रहेका खनालले वडाध्यक्ष रहँदा ४८ वर्षको उमेरमा कक्षा ११ मा भर्ना गरेका थिए । ‘विद्यालय उमेरमा एसएलसीसम्म मात्रै पास गरेर पढ्नै रहर हुँदाहुँदै छाडेको थिएँ, पछि ४८ वर्षको उमेरमा ११ कक्षा भर्ना भएर १२ पास भएँ । त्यसपछि १ वर्ष खाली बसेर अहिले ब्याचलर पढ्न भर्ना भएको छु ।’ वडाध्यक्ष खनालले भने । जनप्रतिनिधि भएपछि जनताको काममा व्यस्त भएकाले गत वर्ष स्नातक भर्ना गर्न नभ्याएको बताउने वडाध्यक्ष खनालले अब पढाई र जनतको काम सँगसँगै अघि बढाएर चार वर्षे स्नातक तह पूरा गर्ने दृढता व्यक्त गरे ।
प्रौढ उमेरमा स्नातक भर्ना हुन आएका वडाध्यक्ष खनाललाई क्याम्पसमा स्वागतसहित मंगलबार भर्ना गरिएको निर्मल बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख सुवासचन्द्र कँडेलले जानकारी दिए । २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार बनी वडाध्यक्षमा विजयी बनेका खनालले २०७९ को निर्वाचनमा पुनः वडाध्यक्षमा निर्वाचित बनेका थिए । विद्यालयको पढाइ सुधार्ने अभियानका साथै आफ्नो अधुरो पढाई पूरा गरी आत्मविश्वासी बन्न यो उमेरमा पनि उच्च शिक्षालाई निरन्तरता दिइएको वडाध्यक्ष खनालले बताए ।
मनहरी गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेतीले वडाध्यक्ष खनालले यो उमेरमा पनि पढाईलाई निरन्तरता दिएर गाउँबासीलाई पढाईको महत्वबारे बुझ्ने प्रेरणा प्रदान गरेको बताए । ‘औपचारिक शैक्षिक योग्यताको महत्व कति हुन्छ भन्ने कुरा दर्शाउन वडाध्यक्षज्यू एक उदाहरण बन्नुभएको छ, अध्ययनलाई निरन्तरता दिनुपर्छ भन्ने कुरा उहाँबाट सबैले सिक्न जरुरी छ ।’ अध्यक्ष कालाखेतीले भने ।







