हेटौंडा–४ मा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी र शिक्षक सम्मानित
हेटौँडा । हेटौँडा उपमहानगरपालिका–४ नम्बर वडा कार्यालयको आयोजनामा तथा शैक्षिक गुणस्तर सुधार समिति हेटौँडा–४ को व्यवस्थापनमा आयोजित कार्यक्रममा एसईई परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थी र शिक्षकलाई सम्मान गरिएको छ।
शैक्षिक गुणस्तर सुधार समितिका अध्यक्ष श्रीराम दाहालको अध्यक्षतामा तथा जिल्ला समन्वय समिति मकवानपुरका संयोजक ललित घलानको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा वडाभित्र रहेका सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थीहरूलाई सम्मान गरिएको हो।
नवोदय शिशु सदन अङ्ग्रेजी माध्यमिक विद्यालयका विद्यार्थी विमर्श श्रेष्ठ र अनुषा उप्रेतीले जिपिए ४ प्राप्त गरेबापत नगद १० हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरेका छन्। त्यस्तै, वडाका ६ वटा माध्यमिक विद्यालयबाट जिपिए ३.२० भन्दा माथिको नतिजा ल्याउने विद्यार्थीहरूलाई पनि सम्मान गरिएको थियो।
कार्यक्रममा विषयगत रूपमा ९५ प्रतिशतभन्दा बढी विद्यार्थीलाई उत्तीर्ण गराउन सफल शिक्षकहरूलाई समेत प्रमाणपत्रद्वारा सम्मान गरिएको छ। कार्यक्रममा वडा अध्यक्ष नवीन सिग्देल, वडा सदस्य गीता त्रिपाठीलगायत स्थानीय शिक्षासेवी, अभिभावक तथा सरोकारवाला निकायको सहभागिता रहेको थियो।
शैक्षिक गुणस्तर अभिवृद्धिका लागि विद्यार्थी र शिक्षकको हौसला अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा सहभागीले यस्ता सम्मानले अध्ययन र शिक्षणमा थप प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका थिए।







