भुटनदेवी माविमा भर्ना हुने विद्यार्थीलाई पूर्ण छात्रवृत्ति
हेटौंडा । मकवानपुर जिल्लामै लामो शैक्षिक इतिहास बोकेको प्रतिष्ठित विध्यालय भुटनदेवी माध्यामिक विद्यालय (प्राविधिक शिक्षालय)ले कक्षा ११ मा नयाँ भर्ना खुला गरेको छ । विशेषगरी एसईई परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्न सफल विद्यार्थीहरूलाई लक्षित गर्दै विद्यालयले पूर्ण छात्रवृत्ति सहितको भर्ना योजना ल्याएको हो।
विद्यालयका प्रधानाध्यापक माधवप्रसाद दाहालका अनुसार यस वर्ष भर्ना हुने विद्यार्थीहरूका लागि शैक्षिक एसईईमा प्राप्त गरेको जीपीएको आधारमा विशेष छात्रवृत्ति र शुल्क छुटको व्यवस्था गरिएको छ। एसईई परीक्षामा ४.० जीपीए ल्याउने विद्यार्थीहरूलाई कक्षा ११ र १२ दुवै वर्षका लागि पूर्ण छात्रवृत्ति दिइने छ।
त्यस्तै, ३.६१ देखि ३.९९ जीपीए ल्याउने विद्यार्थीलाई भर्ना शुल्क र मासिक शुल्कमा पूर्ण छुट प्रदान गरिनेछ। ३.२१ देखि ३.६० जीपीए आउने विद्यार्थीहरूलाई मासिक शुल्कमा पूर्ण छुट दिइनेछ। त्यसैगरी, २.८१ देखि ३.२० जीपीए आउने विद्यार्थीहरूले भर्ना र मासिक शुल्कमा ५० प्रतिशत छुट, २.४१ देखि २.८० जीपीए आउने विद्यार्थीहरूले मासिक शुल्कमा ५० प्रतिशत छुट, र १.६० देखि २.४० जीपीए आउने विद्यार्थीहरूले २५ प्रतिशत छुट पाउनेछन्।
विद्यालयमा कक्षा ११ र १२ मा साइन्स, सिभिल इन्जिनियरिङ, म्यानेजमेन्ट र शिक्षा संकाय अन्तर्गत अध्ययन गराइन्छ। विज्ञान र प्राविधिक शिक्षा प्राप्त गर्न चाहने विद्यार्थीहरूका लागि यो विद्यालय उपयुक्त गन्तव्य बन्ने विश्वास लिइएको छ। विगत १२ वर्षदेखि विद्यालयले कक्षा ९ देखि १२ सम्म प्राविधिक धारअन्तर्गत तीन वर्षे डिप्लोमा सिभिल इन्जिनियरिङ पनि सञ्चालन गर्दै आएको छ।
विद्यालयले शिक्षा, मानविकी र वाणिज्य विषयमा २०६० सालदेखि कक्षा ११ र १२ सञ्चालन गर्दै आएको हो। शिक्षण गुणस्तर, अनुशासन, र आधुनिक शिक्षण पद्धतिका कारण विद्यालयले एसएलसी र एसईई परीक्षामा पटक–पटक जिल्लामा उत्कृष्ट नतिजा प्राप्त गर्दै आएको छ।
प्रधानाध्यापक दाहालका अनुसार विद्यालयले सर्वसुलभ, गुणस्तरीय र प्राविधिक शिक्षा दिने उद्देश्यले विभिन्न सामाजिक र आर्थिक पृष्ठभूमिबाट आएका विद्यार्थीहरूलाई सहयोग गर्ने नीति अपनाएको छ। “हामीले योग्य र इच्छाशक्ति भएका विद्यार्थीहरूलाई अवसर प्रदान गर्ने नीति लिएका छौँ। छात्रवृत्तिको यस व्यवस्थाले होनहार तर कमजोर आर्थिक पृष्ठभूमिका विद्यार्थीहरूलाई लक्षित गरेको हो,” उनले भने।
२०१६ मा स्थापना भएको भुटनदेवी माध्यामिक विद्यालयले लामो समयदेखि मकवानपुर जिल्लामा गुणस्तरीय सार्वजनिक शिक्षाको मेरुदण्डको रूपमा आफूलाई स्थापित गर्दै आएको छ। आधुनिक पूर्वाधार, अनुभवी शिक्षक, तथा शैक्षिक वातावरणका कारण यहाँ अध्ययन गर्ने विद्यार्थीहरूको संख्यामा हरेक वर्ष वृद्धि भइरहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नवीन सिग्देलले जानकारी दिए ।
इच्छुक विद्यार्थी तथा अभिभावकहरूले विद्यालयमा सम्पर्क गरी विस्तृत विवरण बुझ्न सक्ने अध्यक्ष सिग्देलले बताए ।







