सिडिओ र एसपी विरुद्ध हेटौँडाका जनप्रतिनिधि आन्दोलित, प्रहरी प्रमुख भन्छन्ः ‘म पनि फिल्डमै खटिएको छु’
हेटौँडा । मकवानपुरका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख उपरीक्षकविरुद्ध हेटौँडा उपमहानगरपालिकाका जनप्रतिनिधिहरुले आन्दोलन गरेका छन् ।
उपमहानगरका प्रवक्ता एवं १ नम्बर वडाध्यक्ष सविन न्यौपानेमाथि आक्रमण भएको एक महिना बितिसक्दा पनि आक्रमणकारीलाई अझै पक्रन नसकेपछि जनप्रतिनिधि आन्दोलित भएका हुन् । उनीहरुले आइतबारबाट जिल्ला प्रशासन कार्यालयमै टेबल राखेर सेवा प्रवाह गरी आन्दोलनको सुरुवात गरेका हुन् ।
वडामा काम गरिरहेको अवस्थामा न्यौपानेमाथि असार ४ गते दिउँसो पौने ४ बजेको समयमा आक्रमण भएको थियो । घटनाको एक महिनासम्म पनि प्रहरी–प्रशासनले कसैलाई पक्राउ नगरेपछि जनप्रतिनिधि आन्दोलित भएका हुन् ।
हेटौंडाका वडाअध्यक्षहरुले दुई दिन जिल्ला प्रशासन कार्यालय परिसरभित्र टेबल राखेर सेवा प्रदान गर्ने र त्यसपश्चात् थप आन्दोलनको घोषणा गर्ने जनाएका छन् ।
वडाध्यक्ष न्यौपानेमाथि आक्रमणको घटना भएको एक महिना बितिसक्दा पनि प्रहरीले कसैलाई पक्राउ गर्न नसकेपछि जिल्लाको सुरक्षा अवस्था ज्यादै कमजोर भएको भन्दै हेटौंडामा प्रहरी( प्रशासनको चौतर्फी विरोध भइरहेको छ । जिल्ला प्रशासन कार्यालयको नेतृत्व सम्हालिरहेकी प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ र मकवानपुर प्रहरीको कमाण्ड सम्हालिरहेका प्रहरी उपरीक्षक विश्वराज खड्काबाट न्याय पाउने सम्भावना नरहेकाले वार्तामा नबस्ने जनप्रतिनिधिले जनाएका छन् ।
करिब एक महिना अगाडि हेटौंडाको मध्य बजार क्षेत्रमा दिउँसै व्यवसायी कुटिँदा र वडाध्यक्षमाथि आक्रमण हुँदा पनि प्रहरी प्रशासनले प्रभावकारी कार्य गर्न नसकेको भन्दै प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखविरुद्ध व्यवसायी आन्दोलित भएका थिए ।
प्रहरीले वडाध्यक्ष न्यौपानेमाथि आक्रमण गर्नेको खोजी कार्यसमेत गर्न छोडेको आरोप जनप्रतिनिधिको छ । प्रहरीले आक्रमणकारी पक्राउ नगर्दा अन्य जनप्रतिनिधिले समेत खतरा महसुस गर्न थालेको प्रतिक्रिया दिएका छन् ।
मकवानपुर प्रहरीले घटनामा संलग्न भएको आरोपमा यसअघि रुम्बा थरका एक जनालाई पक्राउ गरेको थियो । आरोपितलाई परीक्षा दिनका लागि भन्दै यसअघि नै हिरासत मुक्त गरिसकेको प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । आरोपितले घटनामा संलग्न अन्यका बारेमा कुनै जानकारी पनि नदिएको उनको भनाइ छ ।
आक्रमणमा संलग्नहरुलाई पक्राउ गर्न प्रहरी निरन्तर खटिएको डिएसपी अर्यालले बताए । ‘उनीहरु लुकेर बसेको सम्भावित ठाउँहरुमा हाम्रो सर्च चलिरहेको छ । म पनि फिल्डमै खटिएको छु । आरोपितहरु भागिरहेकोले पक्राउ गर्न समस्या भइरहेको छ ’, उनले भने ।
कार्यशैलीले पटक-पटक विवादमा सिडिओ
आफ्नै गृह जिल्ला (माइती)समेत रहेको मकवानपुरको प्रजिअ बनेर आएदेखि नै श्रेष्ठ आफ्नो कार्यशैलीका कारण विवादमा तानिएकी छन् । कमजोर समन्वयकारी भूमिका र रवाफिलो कार्यशैलीले उनलाई पटक-पटक विवादमा तानेको छ ।
हेटौंडा अस्पतालविरुद्धको रचनात्मक आन्दोलनलाई दबाउन राज्यशक्तिको दुरुपयोग गर्दै धरपकडमा उत्रिएकी श्रेष्ठविरुद्ध सडकमै नाराबाजी लागेको थियो । सडकमै टायर बालेर विरोध भएको थियो । उनीविरुद्ध नेपाली कांग्रेसलगायतका दलहरुले प्रशासन बाहिर आन्दोलन नै गरेका थिए ।
पत्रकारहरुलाई रोक्न उनले परिसरको गेटसम्मै फोटो र भिडियो खिच्न मनाही रहेको पोष्टर टाँस्न लगाएकी छन् । पत्रकारहरुलाई कार्यकक्षमै फोटो र भिडियो खिच्न रोक्दै अभद्र व्यवहार गरेपछि पत्रकार महासंघ मकवानपुर शाखाको बैठकले उनलाई क्षमायाचना गर्न अनुरोध गर्ने निर्णयसमेत गरेको थियो ।







