बागमतीको बजेट बहुमतले पारित
हेटौँडा । बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रदेश सभाबाट बहुमतले पारित भएको छ ।
प्रदेश सभाको सोमबार बसेको बैठकले आगामी आवको बजेट पारित गरेसँगै प्रदेश सरकारलाई आगामी साउन १ गतेदेखि बजेट कार्यान्वयन गर्ने बाटो खुलेको छ ।
प्रदेश सभाको बैठकले प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले प्रेस सभामा पेस गरेको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक २०८२ र आर्थिक वर्ष २०८२/०८३ को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्नेसम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८२ बहुमतले स्वीकृत गरेको हो ।
अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक २०८२ माथिको छलफलमा नेपाल मजदुर किसान पार्टीका सांसद सुरेन्द्रराज गोसाँई, प्रदेश सभा सदस्य सिर्जना सायजु, नेकपा माओवादी केन्द्रको रत्नप्रसाद ढकाल र कांग्रेसका सांसद पुकार महर्जन छलफलमा सहभागी भएको थियो ।
अर्थमन्त्री काफ्लेले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि योजना र कार्यक्रम कार्यान्वय गर्न असार १ गते ६७ अर्ब ४७ करोड ७३ लाख रुपैयाँ बराबरको बजेट ल्याएको थियो । प्रदेश सभाको बैठक अर्को सूचना नभएसम्मका लागि सभामुख भुवनकुमार पाठकले स्थगित गरिएको छ ।







