हेटौँडा ४ का वडाध्यक्षमाथि हातपात, विरोधमा उपमहानगरको सेवा बन्द

हेटौँडा । हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष नवीन सिग्देलमाथि बिहीबार सार्वजनिकस्थलमै हातपात भएको छ। उनलाई एक निर्माण व्यवसायीले हातपात गरेकी हुन्।
हेटौँडा– ४ स्थित हेटौँडा क्याम्पसअगाडिबाट हुप्रचौरतर्फ निस्कने सडक विस्तारको विषयमा छलफल भइरहेका वेला वडाध्यक्ष सिग्देलमाथि मञ्जु लामाले हातपात गरेकी हुन्। उनी काभ्रेको रोशी गाउँपालिकाकी निर्माण व्यवसायी रहेको मकवानपुर प्रहरीले जनाएको छ।
सडक निर्माणको ढिलासुस्तीलाई लिएर विवाद सुरु भएको समयमा निर्माण व्यवसायी लामाले भिडियो खिच्न खोज्दा आफूले भिडियो खिच्न नदिएको विषयलाई लिएर आफूमाथि आक्रमण भएको वडाध्यक्ष सिग्देलले बताए। लामो समयदेखि अलपत्र छाडिएको उक्त सडक निर्माणमा सहजीकरण गरिरहेको समयमा विवाद गर्दै ती महिलाले आफूमाथि हातपात गरेको वडाध्यक्ष सिग्देलको दाबी छ।
महिला जिल्ला प्रहरी कार्यालय मकवानपुरको नियन्त्रणमा रहेको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालले जानकारी दिए। प्रवक्ता अर्यालले घटनाको बारेमा अनुसन्धान भइरहेकोले अहिले नै आफूहरूले केही भन्न नसक्ने बताए।
बिहीबारको उक्त घटनापछि सडक निर्माण कार्य रोकिएको छ भने वडा कार्यालयले शुक्रबारका लागि तय भएका सम्पूर्ण कार्यक्रमहरू स्थगित गरेको जनाएको छ। यस्तै, हेटौँडा उपमहानगरपालिकाले पनि जनप्रतिनिधिमाथि निरन्तर भइरहेको आक्रमणको घटनामा दोषीलाई कारबाही नभएको भन्दै विरोधमा शुक्रबार सम्पूर्ण सेवा बन्द गर्ने निर्णय गरेको छ।
उपमहानगर प्रमुख मीनाकुमारी लामाले बिहीबार साँझ पत्रकारहरूसँग कुरा गर्दै नगरका वडाध्यक्षहरूको सुरक्षामा गम्भीर चुनौती देखिएकाले विरोधस्वरूप एकदिन पालिकाभित्रका सम्पूर्ण कामहरू बन्द गर्नुपरेको बताइन्। उनले यसअघि १ नम्बर वडाध्यक्ष सविन न्यौपानेमाथि भएको सांघातिक हमलामा संलग्नलाई समेत कारबाही नभएको भन्दै आक्रोश व्यक्त गरिन्।
यसअघि ४ असारमा न्यौपानेमाथि आक्रमण भएको थियो। उक्त घटनामा संलग्नहरू पक्राउ नपर्दै वडानम्बर ४ का वडाध्यक्षमाथि आक्रमण भएको हो। नगर प्रमुख लामाले घटनाका दोषीलाई कारबाहीको माग गर्दै जनप्रतिनिधिको सुरक्षा सुनिश्चति गर्न राज्य गम्भीर हुनुपर्ने बताएकी छिन्।