अस्थायी घर टहरा हटाउन हेटौँडा २ को आग्रह

अखबार हब
२०८२ असार १९, बिहीबार २२:०४

हेटौँडा। हेटौँडा उपमहानगरपालिका २ नम्बर वडा कार्यालयले अस्थायी रुपमा बनेका घर टहरा हटाउन अनुरोध गरेको छ।

त्रिभुवन राजपथअन्तर्गत पर्ने वडाको शान्ति टोलस्थित उद्योग वाणिज्य संघदेखि लोकप्रिय होटलसम्मका पूर्वतर्फका अस्थायी घर टहरा हटाउन वडा कार्यालयले सार्वजनिक रुपमा अनुरोध गरेको हो ।

वडा कार्यालयले बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी सडक पेटी निर्माणका लागि ३ मिटर सडक खाली गराउन सबैले सहयोग गर्न आग्रह गरेको छ।

वडाका वडाध्यक्ष विष्णुगोपाल महर्जनले सो क्षेत्रमा रहेका संरचना हटाउन सूचना जारी गर्ने तयारी गरिएको बताए ।बजार क्षेत्रमा पैदल यात्रुहरुलाई अनिवार्य रुपमा पेटीको व्यवस्था हुनुपर्नेमा सो क्षेत्रमा पेटीको अभावमा दुर्घटनाको सम्भावना बढेकाले सडक मिचेर बनेका अस्थायी संरचना हटाई ३ मिटर खाली गर्न सरोकारवालालाई सूचित गरिएको वडाध्यक्ष महर्जनले बताए ।

यो क्षेत्र त्रिभुवन राजपथ अन्तर्गत पनि पर्ने भएकोमा सडक डिभिजनको क्षेत्राधिकारभित्र रहेको, ५० मिटर बिस्तार गर्ने कार्य हाल स्थगित भएको सन्दर्भमा सडक विस्तारको काम ढिला हुने देखिएकोले हाललाई ३ मिटर खाली गराएर सडक पेटी बनाउन लागिएको वडा कार्यालयले जनाएको छ।

सडकमा रहेको ढलबाट ३ मिटरभित्र रहेका अस्थायी घर, टहरा र पेटिहरु हटाई व्यवस्थित फुटपाथ निर्माणको कार्यका लागि सहज वातावरण बनाउन महर्जनले सबैमा आग्रह गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*