जलवायु परिवर्तन बारे सञ्चारकर्मीहरुसँग अन्तरक्रिया

अखबार हब
२०८२ असार १६, सोमबार २१:५३

हेटौँडा। हेटौँडामा जलवायु परिवर्तन र यसको असर बारे बागमती प्रदेशका सञ्चारकर्मीहरुको क्षमता अभिबृद्धी कार्याक्रम भएको छ । बागमती प्रदेशको वन तथा वातावरण मन्त्रालयको आयोजनामा कार्यक्रम गरिएको हो ।

कार्यक्रमको उद्घाटन् गर्दै बागमती प्रदेशका वन तथा वातावरण मन्त्री कृष्ण प्रसाद सिलवालले जलवायु परिवर्तनका कारण मानवीय क्रियाकलापका कारण हरितगृह ग्यासहरूको उत्सर्जन बढेसँगै पृथ्वीको सतहको तापक्रम वृद्धि हुँदै गएको बताए। जसले वातावरण, पारिस्थितिक प्रणाली, कृषि, जल स्रोत, मानव स्वास्थ्य तथा सम्पूर्ण जीवनचक्रमा गम्भीर असर पारेको उनको भनाई छ ।

मौसमले आफ्नो ताल छाड्न थालेको छ—”वर्षा बेलामा नहुने, नहुने बेलामा झन् डुबाउने। कहिले सुख्खा, कहिले बाढी। यो सबै जलवायु परिवर्तनका लक्षण हुन्।’ जलवायु परिवर्तनका कारण समस्या यति भयावह छ, तर समाधान पनि छ”—वन बचाउन सकिन्छ, हरियाली फर्काउन सकिन्छ। बिजुली मोटरसाइकल चढ्न सकिन्छ, कम इन्धन जलाउने बानी बसाल्न सकिन्छ। खेतीमा जैविक तरिका अपनाउन सकिने मन्त्री सिल्वालले बताए । प्लाष्टिकका बस्तुहरुको प्रयोग कम गर्न पहिलो चरणमा प्रदेशमा एक जिल्ला एक वडा प्लाष्टिक रहित वडा बनाउन बजेट बिनियोजन गरिएको बताए ।

कार्यक्रममा वन तथा वातावरण मन्त्रालयका सचिब केदार बरालले जलवायु परिवर्तन र यसको न्यूनीकरणमा नेपालले गरेका प्रयासहरु र नीतिगत व्यवस्थाका बारेमा प्रस्तुतीकरण गरेका थिए । नेपालमा र बागमती प्रदेशको यस मन्त्रालयले जलवायु परिवर्तनको असर घटाउन नीतिगत रूपमा र आफ्ना मातहतका कार्यालय मार्फत थुप्रै कदम चालेको सचिब बरालले बताए । बिभीन्न योजनाबाट गाउँगाउँसम्म जलवायु सचेतना फैलाइएको उनले बताए ।

कार्यक्रममा मन्त्रालयका वन अधिकृत राधिका शर्माले नेपालमा जलवायु परिवर्तनले पारेका प्रभावहरु र बागमती प्रदेशमा जलवायु जन्य प्रकोपको अवस्था, जोखिम र चुनौतीहरुका बारेमा प्रस्तुतीकरण गरेकी थिइन । मन्त्रालयका महासाखाका प्रमुख शिब सापकोटाले कार्बन बित्त र यसको सम्भावनाका विषयमा प्रस्तुतीकरण गरेका थिए।कार्यक्रममा नेपाल पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष कृष्णसारु मगर र जिल्ला अध्यक्ष बालकृष्ण अधिकारीले मन्तब्य व्यक्त गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*