मदन भण्डारी फाउन्डेसन मकवानपुरले गर्यो कविता प्रतियोगिता
हेटौंडा । मदन भण्डारी फाउन्डेसन मकवानपुरद्वारा आयोजित ७४औं मदन जयन्तीको अवसरमा सञ्चालन गरिएको तीन दिवसीय कार्यक्रमअन्तर्गत आज दोस्रो दिनको प्रमुख आकर्षणका रूपमा कविता प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ।
हिजो असार १२ गतेबाट सुरु भएको कार्यक्रमअन्तर्गत कविता प्रतियोगिताका लागि २३ जना विद्यार्थीले कविता पठाएका थिए। तीमध्ये १४ जना प्रतिभाशाली विद्यार्थीहरू शर्टलिस्टमा परेका थिए। आज सम्पन्न कार्यक्रम मदन भण्डारी फाउन्डेसन मकवानपुरका अध्यक्ष रघुनाथ खुलालको अध्यक्षता तथा बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलको प्रमुख अतिथ्यतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा प्रा.डा. शंकरप्रसाद उपाध्याय, जिल्ला समन्वय समितिका पूर्व उपप्रमुख भगवती पुडासैनी, हेटौंडा उपमहानगरपालिका वडा नं. ११ की अध्यक्ष जुना दाहाल, जिल्ला आयुर्वेदिक अस्पतालका अध्यक्ष अर्जुन ढकाल, बुद्धिजीवी घनश्याम घिमिरे, सह-शिक्षा प्रमुख मनोज पोखरेल, तथा साहित्यकार दीपक गौतम, विशाल अधिकारी ‘आँशुतोष’, देवी बर्तौला, दलित अभियन्ता सानो भाइ विश्वकर्मा र पत्रकार सुनिल गौतमको समेत उपस्थिति थियो।
कार्यक्रममा फाउन्डेसनका उपाध्यक्ष धर्म बस्नेत, कोषाध्यक्ष गोकर्ण तिवारी, तथा सदस्यहरू किताबसिंह लामा, खेमराज जर्गा, किरण लामिछाने, सम्झना सुवेदी निर्मला ब्लोन लगायत जिल्लाका विभिन्न विद्यालयका शिक्षकलगायतरको उल्लेखनीय सहभागिता रहेको थियो ।
कविता प्रतियोगितामा जिएस निकेतनकी आकांक्षा निरौला प्रथम, ब्रह्मादिक एकेडेमीकी किस्मा लडौरी द्वितीय र नवोदयकी अनुषा उप्रेती तृतीय हुन सफल भएका छन् । विजेताहरूलाई क्रमशः रु. ७,०००, ५,००० र ३,००० नगदसहित प्रमाणपत्र प्रदान गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि पौडेलले स्व. मदन भण्डारीको विचार, दूरदृष्टि र सामाजिक न्यायमा आधारित नीतिहरूलाई आजका पुस्ताले आत्मसात गर्नुपर्नेमा जोड दिनुभयो।
भोलि असार १४ गते, तीन दिवसीय कार्यक्रमको अन्तिम दिन सहिद स्मारकमा बिहान ७ बजे मदन भण्डारीको शालिकमा माल्यार्पण कार्यक्रम रहेको फाउन्डेसनका सचिव कुमार केसीले उक्त जानकारी दिनु भयो ।
कार्यक्रमले विद्यार्थीहरूमा साहित्यप्रतिको रुचि अभिवृद्धि गर्नुका साथै, स्व. मदन भण्डारीका विचारहरूलाई युवापुस्तासम्म पुर्याउन महत्त्वपूर्ण भूमिका खेलेको सहभागीहरू बताउँछन्।







