हेटौंडाको बजेट २ अर्ब ९० करोड
हेटौंडा । हेटौंडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि २ अर्ब ९० करोड ३ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
हेटौंडा उपमहानगरपालिकाको मंगलबार बसेको नगरसभा बैठकमा उपमेयर राजेश बानियाँले चालु आर्थिक वर्षका लागि २ अर्ब ४३ करोड ८० लाख रुपैयाँ बजेट प्रस्तुत गरेका हुन् । उक्त बजेट चालु आर्थिक वर्षको तुलनामा १९ प्रतिशतले बढी हो ।
हेटौंडाले आगामी आर्थिक वर्षकाको खर्च बेहोर्ने स्रोत तर्फ आन्तरिक आयबाट ६२ करोड ७६ लाख ८० हजार रुपैयाँ, राजस्व बाँडफाँडबाट ९२ करोड ७० लाख ५५ हजार रुपैयाँ प्राप्त हुने अनुमान गरेको छ भने प्रदेश सरकारबाट ११ करोड ४५ लाख ७५ हजार रुपैयाँ अनुदान पप्त हुने अनुमान गरेको छ ।
हेटौंडाका लागि आगामी आर्थिक वर्षमा सङ्घीय सरकारबाट १ अर्ब १९ करोड ५० लाख रुपैयाँ प्राप्त हुने र नगर विकास कोषको ऋणबाट ३ करोड ६० लाख रुपैयाँ बजेटको स्रोत व्यवस्थापनमा व्यहोर्न अनुमान गरिएको छ ।
हेटौंडाले कार्य सञ्चालन तथा प्रशासनिक खर्च व्यवस्थापनको लागि ५९ करोड ६५ लाख ९० हजार रुपैयाँ, सुशासन तथा संस्थागत विकासतर्फ ३ करोड ८९ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
हेटौंडाले शिक्षा क्षेत्रभित्रका योजना तथा कार्यक्रमका लागि ५ करोड ५१ लाख रुपैयाँ, स्वास्थ्य तर्फ मेयरसँग जनता स्वास्थ्य कार्यक्रम, पोषण कोसेली घर भेटघाट गर्ने, निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम, निःशुल्क रक्त सेवा कार्यक्रम, डाइलायसिस लगायतका सेवा सञ्चालनका लागि ६० लाख रुपैयाँ सहित स्वास्थ्य क्षेत्रका योजना तथा कार्यक्रमका लागि २ करोड ७८ लाख बजेट विनियोजन गरिएको छ । महिला, बालबालिका तथा समावेशीकरण र ज्येष्ठ नागरिकका कार्यक्रमका लागि १ करोड ३३ लाख ३५ हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
हेटौंडा अस्पतालमा निर्माणाधीन बाल एन.आईसियुरपिआईसियू सेवा सञ्चालन गर्नका लागि २ करोड रुपैयाँ विनियोजन गरिएको छ भने हेटौंडा–४ स्थित भुटनदेवी माध्यमिक विद्यालयमा मेघा विद्यालय पूर्वाधार निर्माणका (बहुवर्षिय योजना) लागि विद्यालयको ५० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।







