पत्रकारलाई फोटो र भिडियो खिच्न रोकेको घटनाप्रति युनियनको ध्यानाकर्षण
मकवानपुर। नेपाल प्रेस युनियन मकवानपुरले पत्रकारलाई फोटो र भिडियो खिच्न रोकेको घटनाको विरोध जनाएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरमा समाचार संकलन गर्न रोकेको विषयमा प्रेस युनियन मकवानपुरले विज्ञप्ती जारी गर्दै घटनाको घोर भत्सना गरेको हो।
मकवानपुरका प्रमुख जिल्ला अधिाकरी (प्रजिअ)लाई प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा उभिन समेत युनियन मकवानपुरले आग्रह गरेको छ ।
शुक्रवार जनप्रतिनिधिमाथिको आक्रमणसम्बन्धी छलफल तथा तीन वटा छुट्टाछुट्टै ज्ञापनपत्र बुझाउने कार्यक्रमको समाचार संकलन गर्न पुगेका पत्रकारलाई प्रवेशमा रोक लगाउँदै कार्यकक्षभित्र दृश्य खिच्न निषेध गरिएको थियो ।
उक्त कार्यक्रममा समाचार संकलनका लागि पुगेका करिब एक दर्जन पत्रकारहरुलाई सुरक्षा गार्डमार्फत कार्यकक्ष प्रवेशमा नै रोक लगाइएको थियो।
तर प्रमुख जिल्ला अधिकारीका पीएसओले उनीहरूलाई प्रवेशमा रोक्दै दृश्य खिच्नसमेत नदिने जानकारी दिएका थिए। कार्यकक्षभित्र प्रवेश पाएका केही पत्रकारले दृश्य खिच्न खोज्दा प्रजिअ श्रेष्ठ आफैंले नखिच्न निर्देशन दिएकी थिइन्।
यसबारे केही बेर भनाभनसमेत भएको थियो। पत्रकारहरूले सहज रूपमा समाचार संकलन र दृश्य कैद गर्ने अधिकार माग गरे पनि श्रेष्ठले मौन बस्दै कार्यक्रम अगाडि बढाएकी थिइन्। अन्ततः पत्रकारहरूको क्यामेरा र मोबाइल बन्द गराएपछि मात्र कार्यक्रम संचालन गरिएको थियो।
युनियन मकवानपुरका अध्यक्ष सुवास विडारीका अनुसार समाचार संकलनका लागि पुगेका पत्रकारहरुलाई रोक्ने, दृश्य छायंकन गर्न नदिनेरबाधा पु¥याउने जस्ता प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी क्रियाकलाप हो ।
‘सार्वजनिक पद धारण गरेर नागरिकका सरोकारका विषयमा पत्रकाररसंचारकर्मीहरुलाई विभिन्न बहाना गर्दै कर्तव्य पालनामा रोक्नु नेपालको संविधान र सञ्चार ऐन विरुद्धको गतिविधि रहेको प्रेस युनियन मकवानपुरको ठम्याइ छ ।’, विज्ञप्तीमा उल्लेख छ, ‘नेपालको संविधान २०७२ को धारा १७ (२) (क), १९, २७ र ३५ (४) ले सञ्चारकर्मीलाई अभिव्यक्ति स्वतन्त्रता, सूचना प्राप्तिको अधिकार र निष्पक्ष प्रेसको प्रत्याभूति गरेको छ । साथै सञ्चारकर्मी सुरक्षा नीति, २०७३ र फौजदारी संहिता, २०७४ का प्रावधानले पेशागत काममा अवरोध पुर्याउने जस्ता क्रियाकलापलाई स्पष्ट रूपमा दण्डनीय मानेका छन् ।
प्रमुख जिल्ला अधिकारीलाई पत्रकारहरुको पेशागत मर्यादा, सरक्षा प्रत्याभुत हुने गरी कार्य सम्पादन गर्दै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा उभिन अध्यक्ष विडारीले आग्रह गरेका छन् ।







