बकैया गाउँपालिका पूर्ण खोप सुनिश्चतता पालिका
हेटौंडा । मकवानपुरको बकैया गाउँपालिकालाई पूर्ण खोप सुनिश्चतता तथा दिगोपना पालिका घोषणा गरिएको छ ।
पालिका भित्रका ५९ महिनासम्मका सम्पूर्ण बालबालिकाहरुले राष्ट्रिय खोप तालिका अनुसार पाउनुपर्ने सबै मात्राका खोप लगाएको प्रमाणीकरण अनुसार पूर्ण खोप सुनिश्चतता तथा दिगोपना पालिका घोषणा गरिएको हो ।
यो सँगै गाउँपालिकाले हरेक वर्ष माघ, फाल्गुन र चैत महिनामा स्वास्थ्यकर्मीको प्रत्यक्ष संलग्नतामा घरधुरी सर्वेक्षण गर्दै १६ देखि २३ महिनामा बालबालिकालाई पूर्ण खोप दिने प्रतिवद्धता जनाएको छ ।
हरेक वर्षको वैशाख महिनामा ‘खोज र खोप’ अभियान सञ्चालन गरी छुटेका प्रत्येक बालबालिकालाई खोप दिने पालिकाले जनाएको छ ।
घोषणा कार्यक्रममा जिल्ला खोप समन्वय समिति सदस्य सचिव कृष्ण बहादुर मिजारले पालिका अध्यक्ष धर्मराज लामिछानेलाई पालिका पूर्ण खोपको प्रमाणपत्र हस्तान्तरण गर्नुभयो ।
पालिकाका स्वास्थ्य शाखा प्रमुख रमेश फँुयालका अनुसार पालिकाभित्र १५ महिना सम्मका ५ सय ८० जना र १६ देखि ५९ महिनासम्मका १ हजार ८ सय ६४ जना बालबालिका रहेका छन् । यी बालबालिकाहरुलाई पूर्ण खोप दिइएको छ ।
बकैया गाउँपालिकामा १२ वटा वडा रहेका छन् भने प्रत्येक वडामा स्वास्थ्य सँस्था सञ्चालनमा रहेका छन् । पूर्ण खोप सुनिश्चितता कार्यक्रमको दिगो कार्यान्वयनका लागि गाउँपालिका तथा वडा स्तरबाट नियमित अनुगमन गरी असार महिनाभित्र प्रमाणीकरण गरिने जनाइएको छ ।
पूर्ण खोप सुनिश्चतता तथा दिगोपना पालिका घोषणा कार्यक्रममा पालिका उपाध्यक्ष भक्त बहादुर खत्री, स्वास्थ्य शाखा प्रमुख रमेश फँुयाल, प्रमुख प्रशासकीय अधिकृत महेश श्रेष्ठ लगायत वडाका अध्यक्षहरुको सहभागिता रहेको थियो ।
जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुख कृष्ण बहादुर मिजारका अनुसार मकवानपुरका दश वटै स्थानीय तहलाई असार महिनाभित्र पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गर्ने तयारी भइरहेको छ । यसअघि हेटौंडा उपमहानगरपालिका र भीमफेदी गाउँपालिका घोषणा भइसकेका छन् । त्यस्तै मकवानपुरको बागमती, कैलाश, गढी र इन्द्रसरेवर गाउँपालिका घोषणाको अन्तिम चरणमा रहेको छ ।







