हेटौँडामा मकवानपुर क्याम्पसले अन्तर्राष्ट्रिय सम्मेलन गर्दै
हेटौँडा । हेटौंडा-२ स्थित मकवानपुर बहुमुखी क्याम्पसले अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन गर्ने भएको छ । भोलि (शनिबार) देखि तीन दिन क्याम्पसले हेटौंडामा अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन गर्न लागेको हो ।
‘दीगो विकासका लक्ष्यको स्थानीयकरण: युवाको क्षमता विकास’ भन्ने मूल आशयका साथ सम्मेलन हुन लागेको शुक्रबार आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी गराएको हो ।
सम्मेलनमा देश–विदेशबाट एक सय भन्दा बढी प्रतिनिधि सहभागी हुने क्याम्पस प्रमुख डा.यमबहादुर सिलवालले जानकारी दिए ।
केही प्रतिनिधि र केही विज्ञ भने अनलाईनमार्फत नै सहभागी हुने उनले बताए । सम्मेलनको उद्घाटन विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा.डा. देवराज अधिकारीले गर्ने जनाइएको छ । सम्मेलनमा विभिन्न प्राज्ञिक अध्ययन, अनुसन्धानको प्रस्तुती रहनेछ । सम्मेलनले स्थानीयस्तरमा दीगो विकासका लक्ष्यहरुलाई समायोजन गर्ने, युवा विद्यार्थीहरुको सक्षमता अभिवृद्धि गर्ने, दीगो विकासका लक्ष्य हासिल गर्न युवा विद्यार्थीको भूमिका बढाउने लक्ष्य लिइएको क्याम्पस प्रमुख सिलवालले बताए ।
उद्घाटनको कार्यक्रम हेटौँडाको एभोकाडो होटलमा हुनेछ भने आइतबार र सोमबारको दुई दिने कार्यक्रम क्याम्पस परिसरमै हुने जनाइएको छ । सम्मेलनमा जापान,भारत, मलेसिया, थाइल्याण्डबाट अनुसन्धानकर्ताहरुले कार्यपत्र प्रस्तुत गर्नेछ । त्यसैगरी कार्यक्रममा देशभरबाट ५७ वटा अनुसन्धान कार्यपत्र समुहगत रुपमा प्रस्तुत हुने प्रमुख सिलवालले जानकारी दिए ।
अन्तर्राष्ट्रिय सम्मेलन आयोजनाका लागि विश्वविद्यालय अनुदान आयोग, हेटौँडा उपमहानगरपालिकासहित अन्य निकायसँग साझेदारी रहेको क्याम्पस प्रमुख सिलवालले बताए । मकवानपुर बहुमुखी क्याम्पस विश्वविद्यालय अनुदान आयोग (यूजिसि) नेपालले प्रदान गर्ने गुणस्तर सुनिश्चित्तता तथा प्रत्ययनको तेश्रो चरणको प्रक्रियामा रहेको छ ।







