हेटौँडा सिमेन्ट उद्योगलाई निजीकरण प्रयासको विरोधमा प्रदर्शन

अखबार हब
२०८२ बैशाख २५, बिहीबार २१:४०

हेटौँडा । सरकारी स्वामित्वको हेटौँडा सिमेन्ट उद्योगलाई निजीकरण गर्ने सरकारी प्रयासको विरोधमा हेटौँडामा विरोध प्रदर्शन भएको छ ।

नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति मकवानपुरले बिहीबार हेटौँडा बजारमा विरोध प्रदर्शन गरेको हो । माओवादी केन्द्रले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ध्यानाकर्षण पत्र पनि बुझाएको छ ।

माओवादी केद्रीय सदस्य तथा मकवानपुर इञ्चार्ज विजय गौतमले प्रजिअ स्किम श्रेष्ठलाई ध्यानाकर्षण बुझाउँदै निजीकरणको सरकारी प्रयत्न रोकिनुपर्ने बताए ।

‘मन्त्रिपरिषद्को २०८२ वैशाख १५ गतेको बैठकले हेटौँडा सिमेन्टलगायत केही सरकारी उद्योगहरू निजीकरण गर्ने निर्णय गरेकोमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,’ गौतमले भने, ‘यसले वर्तमान सरकार, जनता र राष्ट्रको हितमा भन्दा पनि मुट्ठी भरका बिचौलियाको हितमा सक्रिय छ भन्ने अर्को पुष्ट्याई गर्न खोजेको छ ।’

हेटौंडा सिमेन्ट उद्योगमा संरचनागत, प्रविधिगत र प्रशासनिक रूपमा आवश्यक सुधारसहित नियमित र व्यवस्थित सञ्चालनको प्रबन्ध गर्न ज्ञापनपत्रमा माग गरिएको छ ।

उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सरकारलाई यसअघि बुझाएको प्रतिवेदनमा हेटौंडा सिमेन्ट उद्योगको मूल्यांकन (डीडीए) गरेर गाभ्ने निजी क्षेत्रलाई सेयर बिक्री गर्न सुझाव दिएको थियो । १५ वैशाखको मन्त्रिपरिषद् बैठकले हेटौंडा सिमेन्ट उद्योगलाई निजीकरणमा लैजाने प्रक्रिया अगाडि बढाएको थियो ।

विगत केही महिनादेखि उत्पादन ठप्प रहेको उद्योगले जायजेथा बेचेर उद्योग चलाउने प्रयास पनि गरेको थियो । उद्योग सञ्चालनको लागि आर्थिक स्रोत जुटाउन लामो समयदेखि बन्द अवस्थामा रहेको रोप–वे बिक्री गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*