बकैयामा रोकिएन अवैध उत्खनन्, टिपर र एक्स्काभेटर स्थानीयले समाते
हेटौंडा । मकवानपुरको बकैया गाउँपालिकाको सिमात खोला (धेत्रे) क्षेत्रमा अवैध रुपमा नदीजन्य पदार्थको उत्खनन् गर्ने क्रम रोकिएको छैन् ।
विगत लामो समयदेखि बकैयाको वडा नम्बर ११ र १२ को सिमानास्थित सिमात खोलाबाट नियमित रुपमा नदीजन्य पदार्थको चोरी निकासी भइरहेको स्थानीयले बताएका छन् ।
बकैया–१२ का पूर्ववडाध्यक्ष समेत रहेका स्थानीय रामबहादुर मुक्तानका अनुसार विगत सात महिनादेखि यस क्षेत्रमा रातको समयमा नदीजन्य पदार्थको अवैध दोहन भइरहेको हो ।
‘करिब सात महिनादेखि यहाँ रातको समयमा खोलाबाट अवैध रुपमा ढुंगागिट्टी उत्खनन् भइरहेको छ । गाउँपालिकाले अनुमति दिएको भन्दै तस्करहरुले नदीजन्य वस्तुको चोरी निकासी गर्दै आएका थिए,’ पूर्व वडाध्यक्ष मुक्तानले भने ।
स्थानीयवासीले गएराति उत्खनन् गरिरहेको अवस्थामा तस्करहरुले प्रयोग गरिरहेको सवारी साधन र उपकरण नियन्त्रणमा लिएका छन् । ‘हिजो राति उत्खनन् गरिरहेको अवस्थामा स्थानीयहरुले तस्करको एक्स्काभेटर र टिपर नियन्त्रणमा लिएका छन्,’ मुक्तानले भने ।
मुक्तानका अनुसार अवैध रुपमा उत्खननमा प्रयोग भएका दुई टिपर र एक एक्स्काभेटर स्थानीयहरुले नियन्त्रणमा लिएका हुन् । उनले घटनाको बारे प्रहरी प्रशासनलाई जानकारी गराएको पनि बताए ।
समातिएको एक्स्काभेटर र टिपर हेटौंडाका सुनिल बानियाँको रहेको बताइएको छ ।
यस क्षेत्रमा यसअघि पनि नदीजन्य पदार्थको अवैध उत्खनन् भएको भन्दै स्थानीयहरुले गुनासो गर्दै आएका छन् ।गाउँपालिकाले अवैध उत्खनन् नियन्त्रणका लागि अनुगमन र कारबाही गर्न नसकेको उनीहरुको गुनासो छ ।







