हेटौंडामा प्राविधिक तालिम सुरु, पूर्वमन्त्री श्रेष्ठ भन्छन् – सीपयुक्त जनशक्ति निर्माण आवश्यक
हेटौंडा । बागमती प्रदेशका पूर्वमन्त्री तथा प्रदेशसभा सदस्य एकालाल श्रेष्ठले उद्योग क्षेत्रको विकासका लागि सीपयुक्त जनशक्ति निर्माण आवश्यक भएको बताएका छन्।
हेटौँडा गार्मेन्ट उद्यमी समूह, सूर्यमणि प्राविधिक शिक्षालय र हाम्रो प्रशिक्षण सेवा तालिम केन्द्रको आयोजनामा सुरु भएको ३० दिने विशेष प्राविधिक तालिमको उद्घाटन गर्दै श्रेष्ठले उद्योगहरूमा दक्ष जनशक्ति अभाव रहेको उल्लेख गरे। “प्रदेश सरकारले विभिन्न वडामा यस्ता सीपमूलक तालिम सञ्चालन गरेर जनतालाई प्राविधिक रूपमा दक्ष बनाउने काम गर्दै आएको छ,” उनले भने।
उक्त तालिममा एडभान्स बुटिक सिलाइ, ढाका कपडा बुनाइ तथा औद्योगिक विद्युत् जडानसम्बन्धी तालिम दिइँदैछ। तालिममा ५५ जना भन्दा बढी सहभागी रहेका छन्।
हेटौँडा गार्मेन्ट उद्यमी समूहकी अध्यक्ष मेनका श्रेष्ठको सभाध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा हेटौँडा–४ का वडाध्यक्ष नवीन सिग्देल, उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय हेटौँडाका अधिकृत महेशराज पौडेल लगायतले प्राविधिक सीपमूलक तालिमले युवालाई स्वरोजगार बन्न प्रेरणा दिने विश्वास व्यक्त गरेका थिए ।
तालिम आयोजकहरूले सहभागीहरूलाई दक्ष बनाएर उत्पादनशील क्षेत्रमा लगाउन सकिने विश्वास व्यक्त गरेका छन्।








