उत्पादनसँग जोडिएका योजना ल्याउँदै बागमतीको वन मन्त्रालय
हेटौंडा । बागमती प्रदेशको वन तथा वातावरण मन्त्री कृष्णप्रसाद सिलवालले आगामी वर्षका लागि मन्त्रालयले आफ्ना योजनाहरु ल्याउँदा आम जनतालाई उत्पादनसँग जोड्ने विषेश योजनाहरु ल्याउने तयारी गरेको बताएका छन् ।
प्रदेशको वन तथा वातावरण मन्त्रालयको आयोजनामा सोमबारबाट सुरु भएको २ दिने योजना तर्जुमा गोष्ठी कार्यक्रमलाई सम्बोधन गर्दे मन्त्री सिलवालले अन्य प्रदेशको तुलनामा उत्कृष्ट योजनाहरू सहित परिणाम देखिने खालको योजनाहरू ल्याउन लागेको जानकारी दिए । मन्त्रालयले आगामी आर्थिक वर्ष २०८२/८३ का लागी योजना छनौट गर्दा वनबाट कसरी आम जनताका साथै प्रदेश सरकारलाई समेत कसरी लाभान्वित गर्न सकिन्छ ? ध्यानमा राखेर त्यस्ता खालका योजनालाई विषेश प्राथमिकताका साथ ल्याउने लागेको बताए ।
यस्तै गोेष्ठी कार्यक्रममा मन्त्रालयका सचिव डा.केदार बरालले आगामी वर्षका लागी मन्त्रालयले ९ वटा प्रमुख प्राथमिकताका क्षेत्रहरु छुट्टाएर योजना छनौटको कार्य गर्ने तयारी गरेको जानकारी दिए । उनले प्रमुख प्राथमिकताका क्षेत्रहरूमा वन संरक्षण, वनक्षेत्रको उत्पादकत्व तथा वन पैदावारको उत्पादन अभिवृद्धि,वन पैदावारमा आधारित उद्यम विकास तथा वन पैदावारको सहज विकी वितरण, जडिबुटी प्रजातीहरुको संरक्षण, खेति विस्तार, सङ्कलन, प्रशोधन तथा बजार प्रवद्र्धन कार्यक्रहरु रहेको बताए ।
यस्तै एकीकृत जलाधार व्यवस्थापन, जैविक विविधता संरक्षण, मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापन, विकास र वातावरण बीच सन्तुलन तथा जलवायु परिवर्तन न्यूनीकरण र अनुकुलन, अध्ययन अनुसन्धान प्रविधि विकास तथा मानव संशाधन विकास र पूर्वाधार विकासको क्षेत्र रहेको बताए । कार्यक्रममा मन्त्रालय मातहतका विभिन्न कार्यालयहरूका प्रमुख तथा अन्यकर्मचारीहरूको उपस्थिती रहेको थियो ।








