डाइभर्सन बगाउँदा कान्तिलोकपथ अवरुद्ध
हेटौंडा । वर्षाका कारण मकवानपुर र ललितपुरको सिमानामा पर्ने कान्ति लोकपथ सडकखण्ड अवरुद्ध भएको छ।
मकवानपुरको भिमफेदी गाउँपालिका–८ र ललितपुरको बागमती गाउँपालिका–२ सिमानामा रहेको बागमती खोलामा सवारी आवागमनका लागि बनाइएको डाइभर्सन मार्ग आज बिहान करिब ६:१५ बजे आएको बाढीले बगाएपछि सडक अवरुद्ध भएको हो।
डाइभर्सन बगाएपछि सडक पूर्णरूपमा अवरुद्ध भएको र सवारी आवतजावत ठप्प भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। घटनापछि प्रहरी टोली खटिएर अवरुद्ध सडक खुलाउन पहल भइरहेको छ।
वर्षा अझै जारी रहेकाले सडक सञ्चालनमा समय लाग्ने अनुमान गरिएको छ। यात्रु र सवारी चालकहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न र आवश्यक सतर्कता अपनाउन प्रहरीले अनुरोध गरेको छ।







