प्रेस चौतारी मकवानपुरको नयाँ योजना सार्वजनिक
हेटौंडा । प्रेस चौतारी नेपाल मकवानपुरले संघठनको केन्द्र तथा प्रदेश कमिटीमा मकवानपुरबाट प्रतिनिधित्व गर्ने चौतारीकर्मीहरुलाई बधाई तथा वार्षिक कार्ययोजना सार्वजनिक गरेको छ ।
बिहिवार नेकपा एमालेका केन्द्रिय सदस्य तथा मकवानपुर ईन्चार्ज रामेश्वर रानाको प्रमुख आतिथ्यतामा बधाई पत्रसहित शुभकामना प्रदान गर्नुका साथै वार्षिक कार्ययोजना सार्वजनिक गरिएको हो ।
प्रेस चौतारी नेपाल मकवानपुरले संघठनको केन्द्रिय सदस्यमा सर्वसम्मत चयन भएका शिवकुमार रिजाल, पुष्पराज अधिकारी र आयोग सदस्यहरु उज्वल अधिकारी र आरती ढकाललाई बधाई पत्रसहित सम्मान गरिएको छ ।
साथै प्रेस चौतारी नेपाल बागमती प्रदेश कमिटिको महासचिवमा प्रकाश दाहाल, कोषाध्यक्षमा रामशरण दुलाल र सदस्यहरु विवश अधिकारी, रविन ढुंगाना, रुपक कालीराज र सुनिता विष्टलाई बधाई पत्रसहित शुभकामना दिईएको छ ।
कार्यक्रममा सञ्चारिका समुह बागमती प्रदेशमा सर्वसम्मत चयन भएकी प्रेस चौतारीकर्मी नानीमाया सापकोटा र सञ्चारिका समुह मकवानपुरको अध्यक्षमा सर्वसम्मत चयन भएकी चौतारी जिल्ला कार्यसमिति सदस्य निशा गुरुङलाई पनि बधाई पत्र सहित शुभकामना प्रदान गरिएको थियो ।
कार्यक्रममा प्रेस चौतारी नेपाल मकवानपुरकी अध्यक्ष सरिता दाहालले प्रस्तुत गरेको मकवानपुरको बार्षिक कार्ययोजनामाथि छलफल समेत भएको थियो ।
अध्यक्ष दाहालले आगामी बार्षिक कार्ययोजनामा प्रेस चौतारी मकवानपुरको कार्यालय निर्माणको लागि जग्गा खोजी तथा भवन निर्माण कार्यलाई प्राथमिकतामा राखिएको छ । यसैगरी पत्रकारहरुको सम्मान र पुरस्कारको लागि अक्षय कोष स्थापना गर्ने र उक्त कोषको ब्याजबाट सम्मान र पुरस्कार प्रदान गर्ने जनाएको छ ।
यसैगरी , चौतारी उपचार कोष स्थापना गर्ने , उपचार कोषबाट जिल्लाका चौतारीकर्मी दुर्घटनामा पर्दा र गम्भिर बिरामी भएर उपचार गर्नुपर्दा चौतारीकर्मीलाई कोषको ब्याजबाट सहयोग गर्ने कार्ययोजना अघि सारिएको छ ।
संगठनको नेतृत्वले जिल्ला पार्टीको सहयोगमा अनलाइन पत्रिका सञ्चालन गर्नुका साथै पत्रकार महासंघमा सदस्यता वृद्धि गरेर महासंघमा चौतारीको बलियो उपस्थिति बनाउन र पार्टीको मिसन ८४ लाई महत्वपुर्ण योगदान सक्षम बनाउने अपेक्षा गरिएको छ ।
साथै ६/६ महिनामा चौतारीकर्मीको लेखन समीक्षा गर्ने , चौतारी सदस्यहरुले पार्टीको प्रचारमा गरेको योगदालाई समिक्षा गरेर प्रोत्साहन गर्ने जस्ता कार्यक्रम प्रेस चौतारीले वार्षिक कार्ययोजनमा समेटिएको छ ।
प्रेस चौतारी मकवानपुरकी अध्यक्ष सरिता दाहालको सभाध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले मकवानपुरका सचिव सिता विष्ट , पत्रकार महासंघ बागमती प्रदेशका उपाध्क्ष हरी हुमागाई , पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारी लगायतको उपस्थिती रहेको थियो ।







