हेटौंडामा महिला राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिता हुँदै
हेटौंडा । मकवानपुर जिल्ला फुटबल संघले पहिलो पटक महिला राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिता आयोजना गर्दैछ।
छैटाैँ संस्करणसम्म पुरुष गोल्डकप प्रतियोगिता गर्दै आइरहेको जिल्ला फुटबल संघले यस वर्षबाट महिला गोल्डकप फुटबल प्रतियोगिता गर्न लागेको आज हेटौंडामा पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।
एन्फाका केन्द्रीय सदस्य एवम् मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टीका लामाले प्रतियोगिताको तयारी पूरा भएको बताए ।
सातौं संस्करणबाट प्रतियोगिताको ढाँचामा परिवर्तन गरि पुरुष मात्र नभै महिलाको फुटबल खेल सिपको प्रदर्शन गर्न महिला गोल्डकप आयोजना गर्न लागेको उनको भनाई छ।
बैशाख १९ गतेदेखि हेटौंडा-६ स्थिर गौरीटार रंगशालामा सञ्चालन हुने प्रतियोगितामा ३ विभागीय टोली र ५ वटा जिल्ला क्लब सहभागिता रहने छ ।
प्रतियोगितामा एपीएफ, नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी फुटबल क्लब, आयोजक मकवानपुर, चितवन, सर्लाही, रौतहट र बाराले प्रतिस्पर्धा गर्नेछन्।
प्रतियोगिताको विजेताले ५ लाख र दोस्रो टोलीले ३ लाख रुपैयाँ प्राप्त गर्ने संघका महासचिव छवि सुवेदीले बताए । थप प्रायोजक प्राप्त पुरस्कार राशी बढाउने संघको तयारी रहेको उनले बताए ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले स्कुटर प्राप्त गर्नेछन्। प्रत्येक खेलको प्लेयर अफ द म्याचले १० हजार रुपैयाँ पाउनेछन्।
विधागत उत्कृष्ट खेलाडीले समान २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगितामा ६१ लाख रुपैयाँ लाग्ने आयोजकको अनुमान छ ।
पत्रकार सम्मेलनमा एन्फाकी केन्द्रीय सदस्य पेमा लामा, प्रतियोगिताका संयोजक प्रताव विष्ट र जिल्ला खेलकुद विकास समिति मकवानपुरका अध्यक्ष राजकुमार मोक्तान लगायतको उपस्तिथि थियो ।







