६१ करोडको बजेटले खेलकुद क्षेत्र चल्दैन: मन्त्री महर्जन
हेटौंडा । बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनले खेलकुद क्षेत्रलाई सरकारले पर्याप्त बजेट नदिएकोमा गुनासो गरेका छन् ।
प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशको आयोजनामा मंगलबारदेखि हेटौँडामा सुरु भएको दुई दिने खेलकुद पत्रकारितासम्बन्धी क्षमता अभिवृद्धि कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री महर्जनले सरकारको प्राथमिकतामा खेलकुद नपरेकोमा दुःख व्यक्त गरेका छन् ।
मन्त्री महर्जनका अनुसार बागमती प्रदेशको ८० प्रतिशत खेलाडीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा देशको प्रतिनिधित्व गर्दै आएका छन्। तर आगामी आर्थिक वर्षका लागि खेलकुद मन्त्रालयको लागि मात्र ६१ करोड रुपैंयाँको बजेटको सिलिङ तोकिएको उल्लेख गर्दै उनले यसलाई दुर्भाग्यपूर्ण भने।
‘राज्यको चासो नपुग्दा खेलकुदको विकास रोकिएको छ र युवा बिदेसिन थालेका छन्,’ मन्त्री महर्जनले भने, ‘युवाहरूको पलायन रोक्न खेलकुदमा लगानी बढाउन जरुरी छ।’
कार्यक्रममा बोल्दै प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव दिपक लामाले खेलकुद क्षेत्रको विकास अब पुरानो ढंगले सम्भव नभएको बताए। उनले नयाँ ढंगबाट सम्भाव्यता अध्ययन गरेर मात्र लगानी गर्नुपर्ने आवश्यकता औंल्याए । “जनघनत्व र आवश्यकताको आधारमा पूर्वाधार निर्माणमा जोड दिनुपर्छ,” सदस्य सचिव लामाले भने।
कार्यक्रममा परिषद्का कार्यालय प्रमुख सूर्यबहादुर दाहाल, पत्रकार महासंघ बागमती प्रदेशका संस्थापक अध्यक्ष प्रताप विष्ट, जिल्ला अध्यक्ष बालकृष्ण अधिकारी लगायतको आतिथ्यता रहेको थियो।







