हेटौंडाबाट अवैध रूपमा गाईगोरु ढुवानी : ट्रक नियन्त्रणमा, चालक फरार

अखबार हब
२०८२ बैशाख ९, मंगलवार १०:५९

हेटौंडा। मकवानपुर प्रहरीले अवैध गाईगोरु ढुवानी गरिरहेको अवस्थामा ट्रक नियन्त्रणमा लिएको छ ।

हेटौंडा उपमहानगरपालिका–४ स्थित फरेष्ट्री क्याम्पस अगाडिको पूर्व–पश्चिम राजमार्ग खण्डमा आज बिहान करिब ५ बजे अवैध रूपमा गाईगोरु ढुवानी गरिरहेको एक ट्रक नियन्त्रणमा लिइएको हो।

वडा प्रहरी कार्यालय, सानोपोखराबाट खटिएको टोलीले नियमित चेकजाँचका क्रममा हेटौंडाबाट वीरगञ्जतर्फ गइरहेको बा.प्र.०३–००१ख–१२२० नम्बरको आइचर ट्रकलाई रोकेको थियो। चेकजाँच गर्न लाग्दा ट्रकका चालक सवारी साधन छोडी फरार भएका थिए।

टोलीले ट्रकको चेकजाँच गर्दा कुनैपनि भेटनरी कागजातबिनै ८ वटा गाई र ७ वटा गोरु अवैध रूपमा ढुवानी गरिरहेको भेटिएको हो। पशु सेवा ऐनअनुसार बिना अनुमति तथा स्वास्थ्य परीक्षण कागजात गाईगोरु ढुवानी गर्नु गैरकानुनी मानिन्छ।

पक्राउ परेका गाईगोरु र ट्रकलाई आवश्यक अनुसन्धान तथा कारबाहीको प्रक्रिया अगाडि बढाउन पशु सेवा केन्द्र कार्यालय, हेटौंडामा बुझाइएको प्रहरीले जनाएको छ।

यसअघि पनि मकवानपुर क्षेत्रबाट पटक–पटक गाईगोरु अवैध रूपमा ढुवानी भइरहेका घटना सार्वजनिक भइसकेका छन्।

प्रहरीले फरार चालकको खोजी गरिरहेको जनाएको छ । साथै, गाईगोरु तस्करीमा संलग्न अन्य व्यक्तिहरुको पहिचान तथा कारबाहीका लागि थप अनुसन्धान भइरहेको जनाइएको छ।

यसमा तपाइको मत

Your email address will not be published.


*