डडेलो हेर्न गएका भीमफेदीका पाख्रिनको आगोले जलेर मृत्यु
हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका – १ नयाँगाउँ स्थित वनमा लागेको डडेलो हेर्न गएका एक जना पुरुषको मृत्यु भएको छ ।
बुधबार बेलुका ११ बजेको समयमा घर नजिकको वनमा लागेको डडेलो गोठमा लाग्ने डरले डडेलो हेर्न गएका भीमफेदी- १ नयाँगाउँका ४९ बर्षिय अकिलबहादुर पाख्रिनको डडेलोको आगोले जलेर मृत्यु भएको हो ।
गएराति पाख्रिन घरबाट नजिकै रहेको बोकेदमार सामुदायिक वनमा लागेको डडेलो गोठमा आयोकी भनेर श्रीमती बिपिमाया पाख्रिन र दाजु नाता पर्ने रत्न कुमार पाख्रिन सहित डडेलो हेर्न गएको अवस्थामा बारिको पाटाको भिरबाट अन्दाजि २ सय मिटर तल लडेको मकवानपुरका प्रहरी प्रवक्ता श्यामु अर्यालले जानकारी दिए । पाटाबाट लडेका पाख्रिनको राति खोज तलास गर्ने क्रममा फेला नपरेको र बिहिबार बिहान करिब ६ बजेको समयमा भिरको भोर्लाको लहरामा अड्किएको तथा डडेलोको आगोले जली मृत्यु भएको अवस्थामा फेला परेको मकवानपुर प्रहरीले जनाएको छ ।
घटनाको प्रारम्भिक कानुनी प्रकृया पूरा गरि शव पोष्टमार्टमकोलागि हेटौंडा अस्पताल राखिएको छ ।







