इन्द्रसरोवरमा सुमो दुर्घटना, ३ जना गम्भीर घाइते
हेटौंडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका -२ बतासेस्थित भीमफेदी–कुलेखानी–सिस्नेरी–काठमाडौँ सडकखण्डमा सुमो दुर्घटना भएको छ ।
बुधबार दिउँसो ३:५५ बजे रौतहटको गौरबाट काठमाडौँतर्फ जाँदै गरेको ना.१ ज ५४८५ नम्बरको सुमोको ब्रेक फेल भई अनियन्त्रित हुँदा सडकबाट करिब १०० मिटर तल खोल्सामा खसेर सुमो दुर्घटनामा परेको मकवानपुर प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार सुमोमा चालकसहित १० जना सवार थिए। घाइतेहरूमध्ये ३ जनाको अवस्था गम्भीर, १ जनाको मध्यम र ५ जना सामान्य घाइते छन्। सवारी साधन दुर्घटनास्थलमै रहेको र घाइतेहरूलाई उद्धार गरी तत्काल उपचारका लागि काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको मकवानपुर प्रहरीले जनाएको छ।







