अपाङ्ग र विपन्नको सहयोगी बन्दै सहकारी
दोलखा । चाड पर्वमा हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्था लि. ले अभियानलाई सार्थक बनाउँदै भीमेश्वर नगरपालिकाका ९ वटै वडाका असहाय व्यक्ति तथा परिवारलाई खाद्यन्न सहयोग वितरण गर्दै आएको छ ।
९ वटै वडाले सिफारिस गरेका ३/३ जना गरी २७ जना व्यक्तिलाई सम्बन्धित वडाको पायक पर्ने स्थानमा पुगी उक्त खाद्यन्न सहयोग वितरण कार्यक्रमलाई सहकारीले प्रभावकारी ठान्दै आएको र निरन्तरता दिने गरेको छ ।
चाड पर्वहरु मध्ये नेपाली समाजमा बढी महत्व पाएको र पारिवारिक जमघटका साथ मनाइने चाड दशैंमा आयआर्जन गर्न सक्ने परिवारमा जुन खुशीका साथ दशैं भित्रन्छ आयआर्जन गर्न नसक्ने र असहाय परिवारमा दशैंले पीडा थप्ने गर्छ र खुशी लुटिने भएकाले थोरै भएपनि खुशी बाँड्नु पर्छ भनेर असहाय व्यक्ति वा परिवारमा पनि खुशीका साथ दशैं मनाउने वातावरण सहकारीले गर्दै आएको छ ।
विगत ३ वर्षदेखि हाम्रो जनकल्याणले खाद्यन्न सहयोग वितरण गर्दै आएको छ । खाद्यन्न सामग्रीमा चामल, तेल, चिउरा, मसला, चिनी लगायतका सामग्री राखिएको थियो । प्रति व्यक्तिलाई तीन हजार तीन सय बराबरको सामग्री वितरण गरिएको संस्थाका प्रमुख कार्यकारी अधिकृत दिपक बस्नेतले जानकारी दिनुभयो ।
संस्थाले सामाजिक उत्तरदायित्व अन्तरगत फरक फरक गतिविधि सञ्चालन गर्दै आइरहेको छ । त्यसै अन्तरगत खाद्यन्न सहयोगलाई निरन्तरता दिएको संस्थाका अध्यक्ष राजन श्रेष्ठले जानकारी दिनुभयो ।
हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्था आफ्नो मुख्य व्यवसायसँगै सामाजिक गतिविधि र स्थानीय सरकारको साझेदारका रुपमा रहेको भीमेश्वर नगरपालिका वडा नम्बर ३ का अध्यक्ष हरिशरण शिवाकोटी बताउनुहुन्छ । हाम्रो जनकल्याणले गर्ने गतिविधिहरु पारदर्शी र समाजको आवश्यकतालाई पूरा गर्ने किसिमको रहेको उहाँको भनाई छ । खाद्यन्न सामग्री ग्रहण गर्दै भीमेश्वर १ सुस्पाक्षमावतीको ८५ वर्षीय मंगली थामीले हाम्रो जनकल्याण मेरो लागि ईश्वर भएर आएको बताउनुभयो ।
सहयोग प्राप्त गर्ने त्यसै वडाकी एक सय वर्षकी आइतीमाया थामी जसले श्रीमान गुमाएको ५० वर्ष भइसक्यो । देवरको हेरचाहमा रहेकी आइतीमायाको देवरको मृत्यु भएको पनि १५ वर्ष बढी भइसकेको छ । नजिकै रहेकी छोरीले हेरचाह गरेपनि छोरीको पनि आर्थिक अवस्था भने दयनीय नै भएको स्थानीयहरु बताउँछन् ।
त्यसैले सहकारीले चाडपर्वमा खाद्यन्न लगायतका सामग्री सहयोग गर्दा भगवाननै आएको उहाँको बुझाई छ । त्यसैगरी उमेरमै उच्च रक्तचाप भई शारीरिक अपाङ्गता भएका ३७ वर्षीय पूर्ण सार्की गहभरी आँशु बनाउँदै ७४ वर्षका वृद्ध बुबालाई पालनपोषण गर्नुपर्नेमा आफू बिरामी परेकाले वृद्ध बाबुको कमाइले आफू बाँच्नु परेको छ । यस्तो अवस्थामा वडाले गरेको सिफारिसमा हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्थाले दिएको खाद्यन्न लगायतका नूनतेल सहयोगले दशैं खुशीका साथ बिताएको बताउनुहुन्छ ।
खाद्यन्न सामग्री प्राप्त गर्ने अधिकांश व्यक्तिहरु एकल, अपाङ्गता भएका, दिर्घरोगी तथा श्रीमानबाट पीडित भएका छन् । वडा कार्यालयको सिफारिसमा आफ्ना शेयर सदस्यहरुलाई त्यस्ता खालका सहयोग गर्दै आएका छन् । सहकारीको उत्तरदायित्व अन्तरगत सामाजिक कार्य गर्दै आएको हो ।







