मकवानपुरमा दहमा डुबेर ३ बालकको मृत्यु

अखबार हब
२०८१ चैत्र १७, सोमबार २१:२०

हेटौंडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरी खोलामा डुबेर ३ बालकको मृत्यु भएको छ । काभ्रे घर भई सिस्नेरीस्थित मामाघरमा आएका दुई बालक र सिस्नेरी डोडारेका एक बालक गरी ३ जनाको सिस्नेरी बजार पछाडिको दहमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो ।

सोमबार दिउँसो करिब साढे ४ बजे उनीहरूको डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय भीमफेदीका प्रमुख प्रहरी निरीक्षक ललिता ढकालले जानकारी दिइन् ।

इन्द्रसरोवर–३ सिस्नेरी डोडारेका श्यामबहादुर आचार्यका १४ वर्षीय छोरा सुशान्त आचार्य, काभ्रेको फूलबारी दाप्चा घर भएका १४ वर्षीय प्रमेश घोरासैनी र ११ वर्षीय प्रमाध घोरासैनीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । घोरासैनी दाजुभाइ हुन् भने आचार्य मामाका छोरा भएको प्रहरीले जनाएको छ । उनीहरू सिस्नेरी खोलाको ढुंगाको ओढारमा जमेको पानीमा घरबाट पौडी खेल्न भनेर गएका थिए ।

गत असोजमा कुलेखानी जलाशयको ड्यामको ढोका खोलेर पानी छोड्दा सिस्नेरी खोलामा आएको बाढीले ढुंगाको ओढारमा दह बनेको थियो । बिदाका क्रममा मामाघर आएका घोरासैनी दाजुभाइको मामाको छोरासँगै मृत्यु भएको हो ।

मृतक बालकहरूको शव पोस्टमार्टमका लागि पाटन अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक विश्वराज खड्काले बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*