पत्रकार हत्यामा संलग्नलाई कारबाही गर्न पत्रकार महासंघको माग

अखबार हब
२०८१ चैत्र १७, सोमबार १२:०२

हेटौंडा । नेपाल पत्रकार महासंघ बागमती प्रदेश समिति र जिल्ला शाखा मकवानपुरले पत्रकार हत्यामा संलग्नलाई अविलम्ब कारबाही गर्न माग गरेको छ।

महासंघले हिंसात्मक घटनाका दोषीहरूलाई कानुनी कठघरामा ल्याउन, सञ्चारगृह तथा सञ्चारकर्मीलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन र घाइते पत्रकारहरूको उपचार सुनिश्चित गर्न सरकारसमक्ष माग गरेको हो ।

पत्रकार महासंघ बागमती प्रदेश समितिका उपाध्यक्ष हरि प्रसाद हुमागाईले प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा तामाङलाई ज्ञापनपत्र बुझाउँदै पत्रकार हत्यामा संलग्नलाई कडा कारबाहीको माग गरेका छन्। सोही क्रममा महासंघ जिल्ला शाखा मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीले मकवानपुरका प्रमुख जिल्ला अधिकारी स्कीम श्रेष्ठलाई ज्ञापनपत्र बुझाएका हुन् ।

ज्ञापनपत्र ग्रहण गर्दै प्रदेशका मुख्यमन्त्री तामाङले पत्रकार र सञ्चारगृहमाथि भएको आक्रमण निन्दनीय रहेको बताएका छन्। उनले दोषीलाई कानुनी दायरामा ल्याई आवश्यक कारबाही गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको उल्लेख गरे।

यस्तै, मकवानपुरका प्रमुख जिल्ला अधिकारी श्रेष्ठले महासंघको ज्ञापनपत्र गृहमन्त्रालयमा पठाइने जानकारी दिए। साथै, दोषीमाथि कारबाहीका लागि आफू प्रतिबद्ध रहने आश्वासन दिए।

नेपाल पत्रकार महासंघले यही चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनका क्रममा सञ्चारमाध्यम तथा सञ्चारकर्मीमाथि भएको आक्रमणबारे गम्भीर ध्यानाकर्षण गराएको छ। महासंघका उपाध्यक्ष हुमागाईका अनुसार उक्त घटनामा संलग्नलाई अविलम्ब कानुनी कारबाही गर्न र ज्यान गुमाएका पत्रकारका परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन माग गरिएको बताए ।

महासंघले विगतमा पनि प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हननका घटनामा संलग्नलाई तत्काल कारबाही गर्न माग गर्दै आएको छ। यसै क्रममा, महासंघ बागमती प्रदेश समितिले भविष्यमा यस्ता घटना दोहोरिन नदिन सञ्चारमाध्यम र सञ्चारकर्मीको सुरक्षाका लागि सरकारलाई उचित कदम चाल्न आग्रह गरेको छ।

यसमा तपाइको मत

Your email address will not be published.


*