६८औं राष्ट्रिय सहकारी दिवस भव्य रूपमा मनाइने

अखबार हब
२०८१ चैत्र १५, शनिबार ०९:४७

हेटौंडा । “मर्यादित सहकारीः समुन्नत समाज” भन्ने नाराका साथ ६८औं राष्ट्रिय सहकारी दिवस बागमती प्रदेशमा भव्य रूपमा मनाइने भएको छ। बागमती प्रदेश सहकारी तथा गरिबी निवारण मन्त्रालय, प्रदेश सहकारी विकास बोर्ड, मकवानपुर जिल्ला सहकारी संघ र विषयगत सहकारी संघसंस्थाहरूको समन्वयमा विभिन्न कार्यक्रमसहित दिवस मनाउने तयारी गरिएको छ।

दिवसको मूल समारोह समितिको बैठकले चैत १४ गतेदेखि सप्ताहव्यापी कार्यक्रम तय गरेको छ। यसअघि नै बागमती प्रदेश सहकारी विकास बोर्डका उपाध्यक्ष नारायणप्रसाद देवकोटाको संयोजकत्वमा मूल समारोह समिति गठन भइसकेको छ, जसले प्रदेशभरका सहकारी संघ-संस्थाहरूलाई दिवसलाई प्रभावकारी रूपमा सञ्चालन गर्न निर्देशन दिएको छ।

मुख्य कार्यक्रम हेटौंडामा आयोजना गरिनेछ भने प्रदेशका सबै जिल्ला तथा पालिकास्तरमा समेत विभिन्न गतिविधि सञ्चालन हुनेछन्। कार्यक्रमअनुसार चैत १४ गते सहकारी संघ-संस्थाहरूको कार्यालयमा दिवसको नारा लेखिएको ब्यानर राखिनेछ। चैत १८ गते ‘ऋण लगानी, असुली, र कानून कार्यान्वयनमा समस्या’ विषयमा सहकारी अध्यक्ष तथा व्यवस्थापकहरूसँग अन्तरक्रिया गरिनेछ।

चैत १९ गते बिहान ७ बजे हेटौंडाको बुद्धचोकमा रक्तदान कार्यक्रम आयोजना हुनेछ। त्यसैगरी, चैत २० गते बिहान ७ बजे हेटौंडा–१ चौकीटोलस्थित रोपवे चौरबाट प्रभातफेरी सुरु भई रोयल प्यालेस हेटौंडामा प्रवचन, पुरस्कार तथा सम्मान वितरण गरिनेछ। साँझ बागमती प्रदेशभर दीपावली गरी सहकारी दिवसको समापन गरिने सचिवालयका गोविन्द दहालले जानकारी दिए।

बि.सं. २०१३ साल चैत २० गते चितवनमा बखान ऋण सहकारीको स्थापना भएको दिनको आधारमा हरेक वर्ष चैत २० गते राष्ट्रिय सहकारी दिवस मनाइँदै आएको छ।

यसमा तपाइको मत

Your email address will not be published.


*