वंशगोपाल क्याम्पसमा स्ववियु नयाँ समिति सर्वसम्मत

अखबार हब
२०८१ चैत्र २, आईतवार १४:४४

हेटौंडा । हेटौंडा–६, चौघडास्थित वंशगोपाल बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को नयाँ समिति सर्वसम्मत रूपमा चयन भएको छ।

संगठनहरूबीचको आपसी सहमति पछि आइतबार बिहान सर्वसम्मत नयाँ समिति चयन गरिएको हो।

नवनिर्वाचित समितिको अध्यक्षमा अनेरास्ववियुका दिवस सिलवाल चयन भएका छन्। त्यसैगरी, उपाध्यक्षमा राप्रविसका सजना घिमिरे, सचिवमा अनेरास्ववियुका सुवास राई, कोषाध्यक्षमा अखिल क्रान्तिकारीका आशाराम गोले, सहसचिवमा नेवि संघका आशिष भोलन चयन भएका छन्।

सदस्यहरूमा आयुषा बुढाथोकी (क्रान्तिकारी), निश्चल गजुरेल (अनेरास्ववियु), सन्तोष पुडासैनी (अनेरास्ववियु), पूजा लम्साल (अनेरास्ववियु), सुष्मा गौतम (अनेरास्ववियू), सुशील तिमल्सिना (अनेरास्ववियु) निर्वाचित भएका छन्।

क्याम्पस प्रमुख लक्ष्मण कँडेलद्वारा जारी सूचनामा क्याम्पस सञ्चालक समितिका अध्यक्ष उज्वल चौलागाईंको अध्यक्षतामा बसेको बैठकले सर्वसम्मत रूपमा नयाँ समिति चयन गरेको उल्लेख गरिएको छ।

त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त वंशगोपाल बहुमुखी क्याम्पसले स्नातक तहमा बीबीएस र बीएड कार्यक्रम सञ्चालन गरिरहेको छ। क्याम्पसमा २११ जना विद्यार्थी अध्ययनरत रहे पनि स्ववियु निर्वाचनका लागि १४७ मतदाता रहेको क्याम्पस प्रमुख कँडेलले जानकारी दिएका छन्।

यसअघि मकवानपुरकै मनहरी गाउँपालिकास्थित मनहरी बहुमुखी क्याम्पस मा पनि स्वतन्त्र विद्यार्थी युनियनको नयाँ समिति सर्वसम्मत रूपमा चयन गरिएको थियो।

यसमा तपाइको मत

Your email address will not be published.


*