मकवानपुरका वन क्षेत्रमा डढेलो न्यूनीकरणका लागि अग्रिम तयारी
हेटौंडा । गर्मीयाम सुरु भएसँगै वन क्षेत्रमा डढेलोको जोखिम बढ्ने भएकाले मकवानपुरमा वन जोगाउन अग्रिम तयारी सुरु गरिएको छ। डिभिजन वन कार्यालय मकवानपुरले अग्निपथ निर्माण तथा अग्नि नियन्त्रणका लागि विभिन्न उपायहरू अपनाउँदै आएको छ।
डिभिजन वन कार्यालयका अनुसार, जिल्लाभर २१० सामुदायिक वनमध्ये करिब १०० वनमा हरित दस्ता परिचालन गरी डढेलो नियन्त्रणको काम अघि बढाइएको छ। हालसम्म दुई सय मिटर अग्नि रेखा (वन पथ) निर्माण भइसकेको छ भने स्थानीय वन उपभोक्ता समूहले चार महिनाका लागि अग्नि नियन्त्रक स्वयंसेवकसमेत परिचालन गरिसकेका छन्।
वन अधिकृत दीपक अधिकारीका अनुसार, वन क्षेत्रमा डढेलो लाग्न सक्ने जोखिम उच्च भएकाले नियन्त्रण तथा न्यूनीकरणका लागि तयारी तीव्र पारिएको छ। “लामो समयसम्म वर्षा नभएकाले डढेलोको सम्भावना बढेको छ। त्यसैले हामीले स्थानीय वन समूह, स्थानीय सरकार तथा अन्य सरोकारवालासँग छलफल गरी आवश्यक कदम चालिरहेका छौँ,” उनले भने।
वनडढेलो नियन्त्रणका लागि डिभिजन वन कार्यालय मकवानपुरले आठवटा सबडिभिजन कार्यालयमार्फत वन उपभोक्ता समूहलाई पत्कर जम्मा गर्ने तथा अग्निरेखा निर्माण गर्न आवश्यक सामग्रीहरू उपलब्ध गराएको छ। साथै, आर्थिक रूपमा सक्षम सामुदायिक वनलाई अग्नि नियन्त्रणका उपकरण खरिद गर्न प्रोत्साहन गरिएको छ।
मकवानपुर जिल्लामा ७१,७५४ हेक्टर वन क्षेत्र छ, जहाँ २१० सामुदायिक वन सञ्चालनमा छन्। गत आर्थिक वर्षमा मात्र ७०० हेक्टर वन क्षेत्र डढेलोका कारण नष्ट भएको थियो। वन जोगाउन डिभिजन वन कार्यालयले विशेष सतर्कता अपनाएको छ।







