मनहरीमा महोत्सवको नाममा दर्शक लुट्दै आयोजक, एमालेको विरोध
हेटौंडा । मकवानपुरको मनहरी-८ मा जारी मनहरी खेलकुद तथा व्यापार महोत्सवमा प्रवेश टिकट दर वृद्धि गरिएको भन्दै नेकपा एमाले मनहरी गाउँ कमिटीले आपत्ति जनाउँदै विरोध जनाएको छ।
महोत्सव प्रवेशका लागि प्रारम्भमा ७० रुपैयाँ टिकट दर तोकिएकोमा फागुपूर्णिमाको दिनदेखि २५० रुपैयाँ पुर्याइने निर्णय भएपछि एमाले गाउँ कमिटीले असन्तुष्टि व्यक्त गरेको हो। पार्टीका गाउँ कमिटी अध्यक्ष नविन सुबेदीले विज्ञप्ति जारी गर्दै दर्शकहरूबाट अनावश्यक रूपमा बढी रकम असुल्न खोजिएको आरोप लगाएका छन्।
विज्ञप्तिमा उल्लेख गरिएअनुसार, “७० रुपैयाँ नै महँगो रहेको हाम्रो बुझाइ थियो, तर एकाएक २५० रुपैयाँ तोक्नु नितान्त व्यापारिक लाभ र लुटबाहेक केही होइन भन्ने हाम्रो धारणा छ।”
एमाले गाउँ कमिटीले तत्काल निर्णय सच्याउन र पुरानै टिकट दर लागू गर्न माग गरेको छ। यद्यपि, महोत्सवको संरक्षक रहेको मनहरी गाउँपालिकाले यस विषयमा कुनै आधिकारिक धारणा सार्वजनिक गरेको छैन।
महोत्सव आयोजकको तर्फबाट भने टिकट दर वृद्धिको औपचारिक कारण खुलाइएको छैन, जसले स्थानीयबासी र राजनीतिक दलहरूबीच असन्तोष बढाएको छ।







