हेटौंडामा महिला शिक्षक भलिबल प्रतियोगिता हुने, प्रथम पुरस्कार ७ हजार
हेटौंडा। हेटौंडामा नगर स्तरीय महिला शिक्षक तथा कर्मचारी मैत्रीपुर्ण भलिबल प्रतियोगिता हुने भएको छ ।
नगर स्तरीय शैक्षिक समन्वय समिति हेटौंडाले हेटौंडा नगर स्तरीय महिला शिक्षक तथा कर्मचारी मैत्रीपूर्ण भलिबल प्रतियोगिता आयोजना गर्न लागेको हो ।
फागुन १६ गते र १७ गते दुई दिन चल्ने प्रतियोगितामा हेटौंडा उपमहानगरपालिकाका दस वटा विद्यालयको सहभागी हुने प्रतियोगिता संयोजक बालकुमार श्रेष्ठले जानकारी दिए । बिहीबार सिमितले हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिता बारे जानकारी गराएको हो।
प्रतियोगिता हेटौंडा- ४ मा रहेको आधुनिक माविको खेलमैदानमा आयोजना हुने र प्रतियोगिताको प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने समुहले नगद क्रमश: ७ , ५ र ३ हजारसहित मेडल प्रमाणपत्र प्राप्त गर्ने कार्यक्रम संयोजक श्रेष्ठले जानकारी दिए ।
हेटौंडाकी मेयर मीनाकुमारी लामाले गर्ने प्रतियोगिताको उद्घाटन् खेल सिद्धार्थ मावि र ज्योति मावि बिच हुने जनाइएको छ ।
शिक्षणका साथै अतिरिक्त क्रियाकलापमा महिला सहभागिता वृद्धि गरी सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर सुधार गर्न सहयोग पुगोस भन्ने हेतुले प्रतियोगिता आयोजना गरिएको नगरस्तरीय शैक्षिक समन्वय समितिका अध्यक्ष भोगेन्द्र लुइँटेलले बताए ।
साथै आजै खेलको टाइसिट समेत सार्वजनिक गरिएको छ। प्रतियोगितामा श्रीकृष्ण आधारभूत विद्यालय हेटौंडा ६, सिद्धान्त मावि हेटौंडा २, वंशगोपाल मावि हेटौंडा ६, भूटनदेवी र आधुनिक मावि हेटौंडा ४ त्रिभुवन मावि हेटौंडा ११,ज्योति मावि हेटौंडा १८ र जनप्रिय मावि हेटौडा १६ र प्रगति मावि हेटौंडा ९ सहभागी टिम हुन्।







