११ जना सर्जकलाई सम्मान गर्दै भीम विराग

अखबार हब
२०८१ फाल्गुन १५, बिहीबार ०९:५५

हेटौंडा । भीम विराग संगीत साहित्य कला प्रतिष्ठान नेपाल मकवानपुरले यही फागुन १७ गते विभिन्न क्षेत्रका ११ जना सर्जकलाई सम्मान तथा पुरस्कार प्रदान गर्ने भएको छ ।

बुधबार हेटौँडामा पत्रकार सम्मेलन गर्दै हेटौंडा उपमहानगरपालिकाको आर्थिक सहयोगमा विभिन्न स्रष्टालाई पुरस्कार प्रदान गर्न लागिएको प्रतिष्ठानका अध्यक्ष केशवलाल श्रेष्ठले जानकारी दिए। उनका अनुसार भीम विराग राष्ट्रिय साहित्य पुरस्कार २०८१ काठमाडौंकी साहित्यकार माया ठकुरी, राष्ट्रिय संगीत पुरस्कार २०८१ रुपन्देहीका गायक हेमन्त शर्मा, राष्ट्रिय कला पुरस्कार २०८१ मकवानपुरका कलाकार भोलाराज सापकोटा र राष्ट्रिय पत्रकारिता पुरस्कार २०८१ काठमाडौँका पत्रकार ठाकुर बेल्वासेलाई प्रदान गरिने अध्यक्ष श्रेष्ठले बताए। यी सबै पुरस्कारको राशी जनही २५ हजार रुपैयाँ रहेको छ ।

यस्तै, १५ हजार रुपैयाँ राशीको तुलसीमाया -शिवकुमारी सिर्जनशील नारी पुरस्कार मकवानपुरकी महिला उद्यमी शोभा श्रेष्ठ र शिला नारी पुरस्कार पनि मकवानपुरकै मेनका श्रेष्ठलाई प्रदान गरिने भएको छ । भीम–मथुरा बाल प्रतिभा पुरस्कार मकवानपुरकै रितिका छत्कुली समर्पण गरिने भएको छ । यो पुरस्कारको राशी नगद १० हजार रुपैंया रहेको छ ।

यस्तै, २० हजार रुपैंया राशीको रामकृष्ण बानिंया स्मृति लोक संगीत पुरस्कार पर्वतका लोक दोहोरी गायक कुलेन्द्र विश्वकर्मालाई प्रदान गरिने प्रतिष्ठानका अध्यक्ष श्रेष्ठले जानकारी दिए । चिनुकुमारी लामा स्मृति साहित्य पुरस्कारबाट मकवानपुरका बालसाहित्य अभियानकर्मी दिपक गौतमलाई सम्मानित गरिने भएको छ । यो पुरस्कार राशी १५ हजार रुपैंया रहेको छ ।

यस्तै, १० हजार रुपैंया राशीको मंगलादेवी स्मृति स्वास्थ्य सेवा पुरस्कारबाट मकवानपुरकै स्वास्थ्यकर्मी निर्मला ब्लोन र अजित सेन–कमलेश्वर गुप्ता भिन्न क्षमता पुरस्कार मकवानपुरका दृष्टिविहिन मेकानिक सुदर्शन ढकाललाई समर्पित गरिने अध्यक्ष श्रेष्ठले जानकारी दिए । वरिष्ठ कला साधक भीम विरागको नाममा स्थापना गरिएको प्रतिष्ठानले वर्षेनी सम्मान तथा पुरस्कार वितरण कार्यक्रमको आयोजना गर्दै आएको महासचिव छवि अनित्यले बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*