हेटौंडाको मेलामा लफडा: आयोजकले दर्शक गल्हत्याउँदा रमिते बन्यो प्रहरी प्रशासन
हेटौंडा । हेटौंडामा जारी दोस्रो राष्ट्रिय निर्माण तथा ब्यापार महोत्सवमा लफडा भएको छ । बुधबार हेटौंडाको टिसिएन चौरमा मेला हेर्न आएका दर्शकसँग मेला सञ्चालनको जिम्मा लिएको औद्योगिक शान्ति नेपालले टिकट बिक्रीमा लुट मच्याएको बिषयमा लफडा भएको हो ।
राष्ट्रिय स्तरका कलाकार आउने भन्दै मेलामा मेलामा दुइथरी टिकट निर्वाध रुपमा बिक्री गरिए पछि विवाद भएको थियो । केही दिन अगाडी देखिनै ७५ रुपैयाँको टिकट बिक्री गरिएको भएपनि आज भने ५ बजे पछीको समयका लागि भनेर तीन सय रुपैयाँको टिकट बिक्री गरिएको थियो ।
मेलाको स्वीकृतीको चरणमै हेटौंडा उपमहानगरपालिका, प्रहरी र प्रशासनको सेटिङमा मेला सञ्चालन गर्न दिएपछी आज ७५ रुपैयाँको टिकट काटेर भित्र छिरेका दर्शकहरुलाई गल्हत्याएर निकाल्ने र ३ सय रुपैयाँ तीरेका दर्शकलाई प्रवेश गराउन खोज्दा लफडा भएको थियो ।
निर्माण व्यावसायी संघ मकवानपुरको भवन निर्माण गर्नका लागि सहयोग जुटाउने उद्देश्यले मेला आयोजना गरिएको हो । संस्थाको भवन निर्माण गर्ने जस्तो पवित्र कामका लागि पनि स्वीकृति लिदा सेटिङ गर्नुपरेको एक निर्माण व्यावसायीले बताए ।
आज दिउसो ७५ रुपैयाँको टिकट काटेर मेला हेर्न आएकाहरुलाई दिउँसो साढे ४ बजे प्रहरीकै अगाडी गल्हत्याएर केहीलाई निकालिएको थियो भने केहीलाई निकाल्न खोज्दा भनाभन भएको थियो । पैसा तिरेर मेला हेर्न आएकाहरुलाई फेरी ३ सय रुपैयाँ तिरेर प्रवेश गर्नुपर्छ भनेपछी थप समस्या भएको प्रतक्षदर्शीहरु बताउँछन् ।
मेलामा भएकाहरुलाई औद्योगिक शान्ति नेपालका सेकुरेटीहरु र स्वयंसेवकहरुले चारैतिर घेरा हालेर निकाल्न लाग्दा सुरक्षा दिन बसेका प्रहरी भने रमिते बनेका थिए ।
आज दुइथरी टिकटका कारण केही समस्या भएपनि पछि भने सहज भएको निर्माण व्यावसायी संघ मकवानपुरका अध्यक्ष बालगोपाल कडेलले बताए । मेला हेर्न आएका केही व्यक्ति निकालिएपछी भने प्रहरी र प्रशासनको सहयोगमा ७५ रुपैयाँको टिकट काटेकाहरुलाई गेट बाहिर निकाल्ने काम बन्द गरिएको थियो ।
दुइथरी टिकट बिक्रीमा ठगि गरिएको आफुलाई जानकारी नभएको हेटौंडा उपमहानगरपालिकाका मेयर मिला कुमारी लामाले बताइन । यता जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक बिश्वराज खड्काले हेटौंडाको मेलामा आज टिकटमा ठगि गरेको आफुलाई जानकारी नभएको बताए । ७५ रुपैयाँ तिरेर मेला हेर्न आएका दर्शकलाई निकाल्ने काम बन्द गर्न लगाइएको र सबैले सहज रुपमा हेर्न वातावरण तयार पारेको बताए ।
निर्माण व्यावसायी संघ मकवानपुरले १० वर्षपछि दोस्रो संस्करणको रुपमा फागुन ६ गतेदेखि १८ गतेसम्म मेलाको आयोजना गरेको हो । महोत्सव तथा प्रदर्शनीबाट हुने निर्माण व्यवसायसँगै यसक्षेत्रको आर्थिक गतिविधिमा थप योगदान पुऱ्याउने उद्देश्यका साथ महोत्सब आयोजना गरिएको हो।
महोत्सव निर्माण सामाग्री उद्योगी, विकेता र उपयोगकर्ताबीच सोझो सम्पर्कको स्थापना गराई व्यवसाय वृद्धि गर्ने, उत्पादित बस्तुहरुको बजार प्रवर्द्धन र गुणात्मक प्रतिस्पर्धाको विकास गर्ने, निर्माण उद्योगी र व्यवसायीहरुका वीच समस्या, अवसर र चुनौतीबारे अन्तक्रिया गर्ने र स्थानीय औद्योगिक, निर्माणलगायत उत्पादन तथा सेवाहरुको विशेष प्रवर्धनमा सहयोग पुऱ्याउने उद्देश्यले आयोजना गरिएको हो ।







